१३ बैशाख २०८१, बिहिबार

महरालाई डा. बाबुरामको चिठी : अपराध स्वीकार्नु हित हुनेछ


असोज १८, काठमाडौं । समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोपमा सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई खुलापत्र लेखेका छन् । भट्टराईले आफू दःखी भएको भन्दै महरालाई सामाजिक संजाल फेसबुकमार्फत खुलापत्र पठाएका हुन् । भट्टराईले महरालाई गल्ती स्वीकार गर्दै छानबिनमा सहयोग गर्न आग्रह गरेका छन् ।

डा.भट्टराईले महरालाई पठाएको खुलापत्र :

प्रिय महराजी,

हालैको तपाईं सम्बन्धित घटनाले सम्पूर्ण देश र केही हदसम्म अन्तर्राष्ट्रिय जगत् पनि तरंगित त छँदैछ । म व्यक्तिगत रूपमा समेत अत्यन्त मर्माहत भएको छु ! यो तपाईंको मात्र प्रश्न नभएर ऐतिहासिक माओवादी आन्दोलन, हामीले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र र हामीले परिकल्पना गरेको महिला मुक्ति तथा उन्नत संस्कृतिको प्रश्नसँग जोडिएको विषय पनि हुनाले यहाँ केही बोल्ने धृष्टता गरेको छु !

१. माओवादी नेतृत्व तहमा हामी (विशेषत: प्रचण्ड र म) सुरेश वाग्ले र तपाईंलाई उच्च नैतिकवान् र इमानदार पात्र मान्थ्यौँ ! हामी बीच विवाद पर्दा तपाईं दुई जनाको कुरालाई हामीले विशेष महत्त्व दिन्थ्यौँ ! प्रचण्ड र मेरो बीचमा २०५५-५६ मा पहिलो ठुलो वैचारिक-साङ्गठनिक बहस हुँदा २०५६ साउन/भदौमा पन्जाबको रोपडमा भएको पोलिटब्युरो बैठकमा तपाईं दुई जनाको सुझाव मानेर हामीले विवाद हल गरेका थियौँ ! (दुर्भाग्यवश त्यो बैठक सकेर फर्कने बित्तिकै भदौ २३ गते गोरखामा सुरेश वाग्लेले गौरवपूर्ण सहादत प्राप्त गर्नुभएको थियो !) पछि पोष्टबहादुर बोगटी र तपाईं पार्टीका आदर्श पात्र मानिन थाल्नुभयो ! २०७१सालमा बोगटीजीको दु:खद निधन र पार्टीको क्रमश: ओरालो लाग्दो नैतिक धरातलले आम जनतालाई समेत माओवादी आन्दोलनप्रति वितृष्णा बनाउँदै लग्यो ! कांग्रेस-एमाले पहिले नै भ्रष्टाचार र सुरा सुन्दरी काण्डले बदनाम भईसकेका थिए ! तपाईंको यो पछिल्लो प्रकरण त्यसैले तपाईंको एउटा निजी मामिला मात्र नभएर नेपालको क्रान्तिकारी आन्दोलनको वैचारिक-राजनीतिक र नैतिक संकटको एउटा अत्यन्त नकारात्मक बिम्ब बन्न पुगेको छ । यसलाई तपाईं हामी सबैले स्वीकार्नैपर्छ !

२. माओवादी आन्दोलन यो रसातलको बिन्दुसम्म कसरी पुग्यो ? त्यसको सांगोपांगो विश्लेषण र संश्लेषण छुट्टै गरौंला। हामीले नेपाली क्रान्तिलाई संघीय लोकतान्त्रिक गणतन्त्रको शिखरसम्म पुर्‍याएकै हो । यसमा हामीले सामूहिक गर्व गर्नुपर्छ ! तर रोजा लक्जेम्बर्गले भने झैँ क्रान्ति स्थिर भएर बस्दैन; कि त त्यो अघि बढाइनु/बढ्नु पर्छ, नत्र त्यो पछाडि हट्छ। त्यस्तै अर्को भनाइ छ- शिखर चढ्न सजिलो हुन्छ तर त्यहाँ टिक्न गाह्रो हुन्छ ! अझै अर्को भनाइ छ – क्रान्ति सम्पन्न भएको भोलिपल्ट हिजोका क्रान्तिकारीहरू प्रतिक्रान्तिकारीमा बदलिन्छन् ! यहीँनेर हामी चुक्यौँ ! मैले यो एउटा शिखर चढेपछि अर्को शिखर चढ्न नयाँ बाटो खोजौँ भनेको थिएँ। तर मैले साथीहरूलाई मनाउन सकिनँ! साथीहरू पुरानै शिखरमा बसिराख्न खोज्नुभयो तर वैज्ञानिक रूपमा त्यो सम्भव थिएन ! त्यसैले अब क्रमश: साथीहरू पुरानो शिखरबाट खुर्मुरिइरहनुभएको छ ! तपाईं (महराजी) को पछिल्लो प्रकरण त्यसैको एउटा नमुना हो !

३. यो प्रकरणमा तपाईं दोषी हुनुहुन्छ वा हुनुहुन्न म किटेर भन्न सक्दिनँ ! सत्य कि तपाईंलाई थाहा छ कि सम्बन्धित महिलालाई थाहा छ ! तर अहिलेसम्म बाहिर आएका कुराबाट शंकाको सुई तपाईंतिर सोझिन्छ ! हामीले एसएलसीमा पुष्कर शमशेरको “परिबन्द” कथा पढ्थ्यौँ ! त्यहाँ परिबन्दले निर्दोष व्यक्ति दोषी ठहरिन्छ !

यौन मामिलामा महान् व्यक्तित्वहरू पनि कसरी चुक्छन् भन्नेबारे स्कुलमा पढ्दा गुरुले सुनाएको यो संस्कृत श्लोक सम्झिन्छु:

‘विश्वामित्र परासर प्रभृत्तयो वाताम्बु पर्णाशना।
तेपिस्त्री मुखपंकजं सुललितम् दृष्ट्वैव मोहम् गता।।
साल्यान्नम् सघृतम् पयोदधियुतम् भुन्जन्ति ये मानबा।
तस्याम् इन्द्रीय निग्रहो यदि भवेत् विन्ध्यस्तरेत् सागरम्।।’

तर प्राकृतिक कारण र ऐतिहासिक उदाहरण दिएर सामाजिक दायित्व बहन गर्ने मान्छेले यौन उच्छृंखलता गर्न मिल्दैन ! अझै गम्भीर कुरा त महिलालाई उपभोग्या वस्तुको रूपमा प्रयोग गर्नु र सत्ताशक्ति र धनको बलमा महिलाको अस्मिता हरण र यौनशोषण गर्नु कानुनी दृष्टिले समेत दण्डनीय हुन्छ !

हाम्रो जस्तो पितृसत्तात्मक समाजमा अधिकांश रूपमा महिला नै पीडित हुने भए पनि कहिलेकाहीँ पुरुष पनि उत्पीडन वा प्रतिशोध/षड्यन्त्रको जालमा पर्न सक्छ। तपाईंको हकमा पनि अन्यथा भएको हुनसक्छ । त्यस निम्ति पनि तपाईंले सत्य तथ्य बाहिर ल्याएर कानुन बमोजिम न्यायको निरूपण गर्न र आफूलाई निर्दोष साबित गर्न स्वतन्त्र र निष्पक्ष अनुसन्धानको माग गर्नुपर्छ र त्यसलाई सघाउनुपर्छ ! त्यसले तपाईंको प्रतिष्ठा घटाउने हैन बढाउनेछ !

यदि जानेर वा नजानेर गल्ती वा अपराध भएको हो भने त्यसलाई खुला रूपले स्विकार्नु र प्रायश्चित गर्नु नै तपाईं स्वयम्, क्रान्तिकारी आन्दोलन र देशको हितमा हुनेछ। भनिन्छ- गल्ती गर्नु अपराध हैन; गल्ती नसच्याउनु अपराध हो !
तपाईंको शुभेच्छुक,
बाबुराम


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !