१७ असार २०८१, सोमबार

त्रिपक्षीय सहकार्य आवश्यक : चीन


china

कार्तिक ३, २०७३- चीनले नेपाल र भारतसँग सहकार्य गर्दै अघि बढ्दा आर्थिक विकास र क्षेत्रीय स्थायित्वमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरेको छ । बेइजिङस्थित विदेश मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता हुअ चुनयिङले भारतको गोवामा भएको त्रिपक्षीय भेटबारे सोधिएको प्रश्नको जवाफ दिँदै उक्त कुरा बताएकी हुन् ।

‘हामी विश्वास गर्छौं, द्विपक्षीय सम्बन्धका तीन जोडीहरू (चीन–नेपाल, चीन–भारत र नेपाल–भारत) बीचको सकारात्मक अन्तक्र्रियाले तीन देशको आर्थिक र सामाजिक विकासलाई मात्र प्रवद्र्धन गर्दैन, क्षेत्रीय स्थायित्व र विकासमा समेत योगदान पुर्‍याउँछ,’ प्रवक्ता हुअले भनिन्, ‘हामी भारत र नेपालसँग त्रिपक्षीय सहकार्य कसरी बढाउने भन्नेबारे पहिल्याउन चाहन्छौं, ताकि तीन देशको साझा विकास अगाडि बढाउन सकियोस् ।’

चीनका राष्ट्रपति सी जिनपिङले गोवामा आयोजित ब्रिक्स सम्मेलनका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीसँग गरेको छलफलका सन्दर्भमा चिनियाँ प्रवक्ताले तीन मुलुकबीच सहकार्यको खाँचो पुन: औंल्याएकी हुन् । यसअघि आइतबार भारतीय विदेश मन्त्रालयका प्रवक्ताले गोवामा तीन देशका कार्यकारी प्रमुखबीचको संयुक्त भेट ‘संयोगवश’ मात्र भएको र त्यहाँ ‘त्रिपक्षीय समझदारी’ नभएको टिप्पणी गरेका थिए । चिनियाँ विदेश प्रवक्ताले नेपालका प्रधानमन्त्रीसँग गोवामा भएको द्विपक्षीय भेटवार्तामा चिनियाँ राष्ट्रपतिले ‘चीन र नेपाल पहाड तथा नदीहरूले जोडिएका निकट छिमेकी रहेको’ उल्लेख गरेको पनि बताइन् ।

‘विश्व राजनीतिमा जेजस्तो उतारचढाव देखिए पनि हाम्रो (द्विपक्षीय सम्बन्ध) स्थापनाको पाँच दशक पूरा भइसक्दा पनि नेपाल र चीनबीचको मित्रता सदैव स्वस्थ र राम्रोसँग अघि बढेकोमा राष्ट्रपतिले प्रसन्नता व्यक्त गर्नुभएको छ,’ हुअले भनिन् । राष्ट्रपति सीले प्रधानमन्त्री दाहालसँगको भेटमा दुईपक्षीय सम्बन्धलाई निकै जोड दिएको जनाउँदै उनले थपिन्, ‘नेपालसँग सबैजसो क्षेत्रको प्रभावकारी सहयोगलाई जोड दिँदै अघि बढ्न चीन तयार छ । विशेष आर्थिक क्षेत्र, पूर्वाधार निर्माण, सडक सञ्जाल लगायतमा सहयोग गर्न चीन तयार छ ।’

चीनले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको भन्दै प्रवक्ताले उचित सहकार्य गर्न तत्पर रहेको उल्लेख गरिन् । तर, चिनियाँ राष्ट्रपति सी कम्बोडिया र बंगलादेश हुँदै भारत पुग्दा पहिले चर्चा भएझैं नेपाल भ्रमणमा नआएको विषयमा भने उनले केही बताइनन् । स्वतन्त्र व्यापार सम्झौता, सञ्जाल, ऊर्जा विकासका विषयमा भएका छलफलमा नेपाल र चीनबीच भएका सहमति कार्यान्वयनमा दृढतापूर्वक लाग्नुपर्नेमा चीनको जोड रहेको सन्देशसमेत उनले पत्रकार सम्मेलनमा दिइन् ।

चीन नेपालको प्राकृतिक प्रकोपपछिको पुनर्निर्माणमा निरन्तर सहयोग गर्न इच्छुक रहेको र भौतिक संरचना निर्माणसँगै जनजीविका उकास्न र सांस्कृतिक सम्पदा निर्माणमा पनि उच्च गुणस्तरको लगानी गर्न तयार रहेको बताइन् । प्रधानमन्त्री दाहालले नेपाल–चीन सम्बन्धबारे राखेको धारणा उद्धृत गर्दै उनले भनिन्, ‘सञ्जाल विस्तारका लागि ‘वान बेल्ट वान रोड’ तथा एसियाली पूर्वाधार लगानी बैंक उपयोगी रहनेमा नेपाल विश्वस्त छ ।’

पूर्वउपप्रधानमन्त्रीद्वय चीन भ्रमणमा

पूर्वउपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आफ्ना पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल भारतबाट फर्केको भोलिपल्टै चीनको साताव्यापी भ्रमणमा निस्केका छन् । उनी चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा त्यसतर्फ गएका हुन् । उनले त्यहाँ उच्च राजनीतिक भेटघाट गर्ने बताइएको छ । उनी हेनान हुँदै बेइजिङ जाने कार्यक्रम छ । अर्का पूर्वउपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा साताव्यापी तिब्बत भ्रमण गरेर स्वदेश फर्केका छन् । उनले त्यहाँ रहँदा तिब्बत सरकारका उपाध्यक्ष टासी पेम्बालगायत नेताहरूसँग भेटवार्ता गरेका छन् । उनी ल्हासा हुँदै मानसरोवर यात्रामा गएका थिए ।

यता चिनियाँ उद्योग वाणिज्यसम्बन्धी सार्वजनिक प्रशासनमन्त्री चाङ माओ तीनदिने नेपाल भ्रमणमा छन् । आपूर्ति मन्त्रालयको निमन्त्रणामा उपभोक्ता अधिकारको क्षेत्रमा सहयोग विस्तार गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न चाङ नेपाल आएका हुन् । दुई देशबीच उपभोक्ता अधिकारका क्षेत्रमा सहयोग विस्तार गर्ने समझदारीमा बुधबार आपूर्तिमन्त्री दीपक बोहरा र चिनियाँ मन्त्रीले हस्ताक्षर गर्ने कार्यक्रम छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !