५ जेष्ठ २०८१, शनिबार

देउवा–पौडेलवीच भागबण्ड मिल्यो, पौडेलले पाए पाँच मन्त्रालय


Deuba-Paudel-Nepali-Congress-555x335

काठमाडौं : नेपाली कांग्रेसबाट हुने मन्त्रीको सपथ शुक्रबार मात्र हुने भएको छ।

बुधबार नै सपथको तयारी गरिए पनि कांग्रेसभित्र मन्त्रीहरुको भागबण्डा नमिलेपछि बुधबारको कार्यक्रम प्रभावित भएको थियो।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई १३ मध्ये ४ मन्त्रालय मात्र दिने कांग्रेस सभापति शेरबहादुर देउवाको अडान र ५ मन्त्रालय नपाए सरकारमा नै नजाने पौडेलको अडानका कारण बुधबार सपथको कार्यक्रम हुन सकेन।

बिहीबार बिहानसम्म पनि पौडेललाई मनाउने प्रयासमा देउवा असफल भएपछि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भनेर पार्टीले पाउने १३ मन्त्रालयमा एक मन्त्रालय थप गर्न आग्रह गरेका थिए। अब सरकारमा पौडेल पक्षबाट ५ मन्त्री सहभागी हुनेछन्। कांग्रेसभित्र विवाद मिले पनि सार्वजनिक विदाका कारण आज सपथ नहुने भएको छ।

‘सार्वजनिक बिदा भएकाले आज सपथको कुनै कार्यक्रम छैन,’ राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले भने, ‘सपथको कार्यक्रम अब सम्भवतः शुक्रबार मात्र हुनेछ।’

गत १८ साउनमा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि १९ गते राष्ट्रपतिसमक्ष सपथ ग्रहण गरेका थिए। त्यसलगत्तै आफ्नै पार्टी नेकपा माओवादी केन्द्रबाट तीन र प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसबाट दुई गरी पाँच मन्त्रीहरुको सपथ गराएका प्रधानमन्त्रीले त्यसपछि राप्रपाको सिफारिसमा मन्त्री भएका दुई जनाको सपथ गराए। कांग्रेसका तर्फबाट हुने मन्त्रीहरुसँगै आफ्ना पनि मन्त्री बनाउन कुरेका प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेसले आफ्नो भ्रातृ संस्था नेपाल विद्यार्थी संघको अधिवेशनका कारण केही ढिला हुने जानकारी दिएको थियो।

यसपछि भने प्रधानमन्त्रीले आफ्नो पार्टीको भागमा परेका मन्त्रीहरु र राज्यमन्त्री समेतलाई सपथ गराएका थिए।

यता कांग्रेस भने आफ्नो भ्रातृ संस्था नेविसंघको महाधिवेशन सकिएलगत्तै मन्त्रीहरुको भागबण्डा विवादमा फस्न पुग्यो। यसबीचमा कांग्रेसका तर्फबाट सरकारको नेतृत्व गरिरहेका तथा सरकारका प्रमुख ‘डिजाइनर’ मानिएका विमलेन्द्र निधि भारत भ्रमणमा गएकाले उनलाई कुरेर सभापति देउवाले ढिला गरे।

जब उनले ८ गतेको मिति तोकेर सपथको तयारी गरे, त्यसपछि उनले लगाएको भागबण्डामा पार्टीभित्रको उनको प्रतिस्पर्धी पौडेल समूह सहमत हुन सकेन। यसकारण बुधबारको मन्त्रीपरिषद विस्तार प्रभावित बन्न पुग्यो।

आज नै मन्त्रीहरुको टुंगो लगाएर शुक्रबार मन्त्रीहरुको सपथको तयारी कांग्रेसले गरेको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !