८ बैशाख २०८१, शनिबार

नेपाली काँग्रेस भित्र मन्त्री छनौटमा असमझदारी कायमै


Nepali-Congress-Party-Flag

नेपाली कांग्रेसको असन्तुष्ट पक्षले पार्टी नेतृत्वले सरकारमा सहभागी हुने मन्त्रीका बारेमा आफुसँग छलफल नगरेको बताइरहँदा संस्थापन निकट एक नेताले केही दिनमा नै पार्टी सभापतिले मन्त्रीमण्डलमा सहभागी हुने नेताहरुको नाम टुङ्गो लगाउने बताएका छन्।

पार्टी सभापति शेरबहादुर देउवा निकट नेता प्रकाश शरण महतले अबको ३/४ दिनमा पार्टिबाट मन्त्री बन्नेहरुको नाम टुङ्गो लाग्ने बताए।

त्यसका लागि सभापति देउवाले अन्य नेतासँग छलफल गरिरहेको उनको भनाई छ।

तर नेता रामचन्द्र पौडेलले भने यसबारेमा सभापतिले आफुहरु सँग कुनै छलफल नगरेको र एकलौटी ढंगले पार्टी चलाउन खोजेको आरोप लगाएका छन्।

मन्त्रालय
नेकपा माओवादी केन्द्रसँग सतासाझेदारी गरेको नेपाली कांग्रेसले १३ मन्त्रालय पाएको छ, जसमध्ये अहिलेसम्म उसले उपप्रधानमन्त्री सहित दुई जना मात्र मन्त्री पठाएको छ।

आफ्नो भातृसंगठन नेपाल विद्यार्थी संघको महाधिवेशन सकिए लगत्तै थप मन्त्रीहरुको नाम पठाउने बताएको कांग्रेसले विद्यार्थी महाधिवेशन सकिए पनि थप मन्त्रीहरुको नाम पठाउन सकेको छैन।

सभापति शेरबहादुर देउवाले त्यसका लागि अन्य नेताहरु सँग छलफल गरिरहेको र नाम पठाउन अझै ३ देखी ४ दिन लाग्ने देउवा निकट नेता प्रकाश शरण महत बताउँछन्।

उनले भने “सभापतिले सम्बन्धित नेताहरुसंग सल्लाह गरिरहनु भएको छ। मंगलबारसम्म थप मन्त्रीहरुको सूची तयार गरेर पठाउने काम सकिन्छ।”

हालको मन्त्री मण्डलमा सहभागी दुवै जना देउवा पक्षीय नेताहरु भएको बताइन्छ।

असन्तुष्ट

थप मन्त्रीहरु पठाउँदा महामन्त्री सशांक कोइराला, सभापतिमा पराजित नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समुहलाई समेत मिलाएर सूची बनाउने काम भैरहेको बताइएको छ।

तर नेता पौडेलले बीबीसीसँग कुरा गर्दे मन्त्रीमण्डलमा पठाउने सदस्यका बारेमा सभापतिले आफुसँग हाल सम्म छलफल नै नगरेको र एकलौटी ढंगले पार्टी चलाउन खोजेको बताए।

उनले भने, “अहिलेसम्म सभापति र मेरो बीचमा छलफल भएको छैन, सल्लाह पनि लिनु भएको छैन। सामुहिक रुपबाट पार्टी चल्ने हो की एकलौटी चल्ने हो?”

सरकार निर्माण देखि सँगै बसेर छलफल गर्नु पर्नेमा त्यस्तो हुन नसकेका भन्दै नेता पौडेलले स्थिति सहज नरहेको बताए।

बाँकी रहेका ११ वटा मन्त्रालयका लागि आकांक्षी धेरै रहेका समाचारका माझ पौडेलको यो असन्तुष्टीले काँग्रेसबाट मन्त्रीको नाम पठाउन अझै ढिलाइ हुने देखिएको छ।

कतिपय कांग्रेस नेताहरुले केन्द्रिय समितिको बैठकबाट अनुमोदन गराएर मात्र मन्त्रीहरुको नाम पठाउनु पर्ने माग गर्दै आएका छन्।

नेता प्रकाश शरण महतले केन्द्रिय समितिबाट अनुमोदन र भागबन्डाको सम्भावनालाई नकार्दै नेताहरुलाई विश्वासमा लिएरै काम हुने बताए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !