११ श्रावण २०८१, शुक्रबार

नयाँ शक्ति नेपालले पार्टी पंक्तिबाटै ध्यान र योग प्रवर्द्धन गर्ने


naya sakti

१६ असार, २०७३:- डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले पूर्वी सभ्यताका महत्वपूर्ण विषयहरु ध्यान र योगलाई महत्व साथ उठाउने भएको छ। पार्टी संयोजक डा.भट्टराईले पूर्वीय दर्शनका राम्रा कुरालाई आत्मसात गर्ने पार्टी नीतिअनुसार योग तथा विपश्यना ध्यानलाई पार्टी नेतृत्व तहबाट प्रवर्धन गर्ने बताए।

‘विश्वमा मानव विकास सूचकको रुपमा आत्मिक आनन्दको कुरा आउन थालेको अवस्थामा नयाँ शक्तिले योग र ध्यानलाई पार्टीको नीतिमा समावेश गरेको छ। यसलाई कार्यान्वयन गर्ने मोडालिटी के हुन्छ?’ भन्ने सवालमा पार्टीका संयोजक डा.भट्टराईले भने, ‘विश्वमा अहिले ह्यापीनेस इन्डेक्सका कुराहरु आइरहेका छन्। ह्यापीनेस आफैँमा सब्जेक्टिभ विषय भए पनि यो प्राप्तिका विधिहरुलाई हामीले अँगाल्ने छौं। जनता समक्ष यी कुरा लिएर जानेछौं।

मानसिक शान्ति र चरित्रवान् जीवनशैलीका लागि विपश्यना ध्यान र शारीरिक तन्दुरुस्तीका लागि योग अभ्यास विश्वभरि लोकप्रिय रहेको अवस्थामा डा.भट्टराईले बिहीबार यी विषय पार्टीले प्राथमिकता साथ अघि बढाउने उल्लेख गरेका हुन्। ‘योग र विपश्यना ध्यानले मान्छेलाई शारीरिक तन्दुरुस्ती राखेर तनाबमुक्त पार्न मद्दत गर्छ भन्ने कुरा विज्ञानले प्रमाणित गरेको छ। त्यसैले पार्टी पंक्तिबाटै हामी यसलाई प्रवर्धन गर्दैछौं।

योग र ध्यानले मानसिक शान्ति दिन्छ भन्ने कुरा व्यवहारले समेत प्रमाणित गरेको उल्लेख गर्दै उनले नयाँ शक्ति पार्टीका नेताहरुले नै अभ्यास गरेर यी विषयहरु जनसमक्ष पुर्‍याउने उल्लेख गरे। ‘हामी आफैँ पनि योग ध्यान गर्ने छौं। यसलाई जनता समक्ष पनि लैजाने छौं’,उनले भने, ‘म आफैँ पनि ४० वर्षदेखि प्रणायम गर्दै आएको छु। धेरै तनाब भए सबासनमा केहीबेर सुत्छु।’

नयाँ शक्तिले स्वास्थ्य तथा याेग साधना विभाग समेत गठन गरेको छ। डा. प्रवीण मिश्र यो विभागको प्रमुख रहेका छन्।

योग ध्यानका अतिरिक्त पार्टी पंक्तिलाई अध्ययनशील बनाइने संयोजक डा. भट्टराईले उल्लेख गरे। अध्ययन अनुसन्धान तथा प्रविधि प्रयोगलाई पार्टीले सशक्त रुपमा अघि बढाउने उनको भनाइ थियो। ‘म ३१ वर्षअघि गरेको पिएचडी गर्दाको अध्ययन अनुसन्धानको ब्याज खाएर बसिरहेको छु। मेरै यो अवस्था छ भने अरुको के होला?’ डा.भट्टराईले भने, ‘त्यसैले हामीले पार्टीभित्र अध्ययन, अनुसन्धान र सूचनालाई प्राथमिकता दिँदैछौं।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !