११ श्रावण २०८१, शुक्रबार

भगवान रामको जन्मभूमि माडी नै हो : अध्यक्ष ओली


केपी शर्मा ओली

चितवन । प्रमुख सत्तारुढ दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि चितवनको माडी नै भएको रहेको दाबी गरेका छन् ।

नेकपा एमाले चितवनको ११औं जिल्लाअधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथ ग्रहण कार्यक्रममा अध्यक्ष ओलीले आज धार्मिक पौराणिक सांस्कृतिक मान्यताका आधारमा रामको जन्मभूमि चितवनको माडी नै भएको दाबी गरेका हुन् ।

अध्यक्ष ओलीले भने, ‘शास्त्रमा मज्जासँग लेखेको छ, तर कोही किन बोल्दैन । कसले बोल्न दिँदैन, पण्डितहरू पनि बोल्दैनन् । वाल्मिकीले आफैँले लेखेको प्रमाणहरू सबै कुराले त्यो देखाउँछ । अयोध्यापुरी रामको जन्मभूमि यहीँ हो भन्ने पुष्टि हुन्छ ।’

उनले रामको जन्मभूमि माडीको अयोध्यापुरी नै भएको दाबी गरे । उनले भने, “पौराणीक मान्यता र शास्त्रहरुमा राम माडीमा नै जन्मिएको स्पष्ट छ । धेरै सूचकले यही कुरा देखाउँछ ।”

शास्त्रले देखाइरहेकोतिर पण्डितहरूलाई पढ्न गाह्रो भइराखेको उनले आरोप लगाए । अध्यक्ष ओलीले यस विषयमा आफूले राजनीति गर्न नखोजेको पनि बताए । माडीमा राम मन्दिर बन्ने बताउँदै उनले धार्मिक पर्यटक भित्र्याएर माडीलाई मडी बढाउन सकिने उनले बताए ।

आफू प्रधानमन्त्री भएको बेला माडीको अयोध्यापुरीमा मन्दिर र मूर्ति बनाएर पठाएको स्मरण गर्दै उनले व्यवस्थित मन्दिर र धामको रूपमा विकास गर्नुपर्ने बताए । माडी जाने निकुञ्जको बाटो कालोपत्रे हुनुपर्ने भन्दै उनले जङ्गलमा पनि कालोपत्रे गर्न मिल्ने बताए ।

अर्को प्रसंगमा अध्यक्ष ओलीले पार्टीको काममा महिलाको सहभागिता बढाउनुपर्नेमा जोड दिए । एमाले चितवनको नवनिर्वाचित समितिको सपथग्रहण समारोहका अवसरमा आज उनले पार्टी कामलाई पनि महिलाहरुको बीचमा लैजान निर्देशन दिए । उनले भने, “महिलाहरुले जिम्मेवारी लिएको ठाउँमा पुरुषको तुलनामा भ्रष्टाचार कम भएको पाइएको छ ।”

फरक प्रसंगमा उनले एमालेले मिसन-२०८४ भन्दै आएको चर्चा गर्दै चितवनका सात वटै पालिका र सबै वडा जित्ने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिए । उनले भने, “चितवन बनाउने हो भने एमालेलाई जिताउनु पर्छ । वडादेखि पालिका सबै एमालेले जित्नुपर्छ ।” पार्टीलाई एकताबद्ध, एकजुट र सक्रिय बनाउन निर्देशन दिँदै उहाँले भन्नुभयो “आन्तरिक सङ्घर्ष होइन, आन्तरिक छलफलबाट पार्टीलाई एकजुट बनाएर अघि बढ्नुपर्छ ।”

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य काशिनाथ अधिकारी, गुरु बराल, चितवन जिल्ला इञ्चार्ज पार्वत गुरुङ, नवनिर्वाचित अध्यक्ष कमल पाठक, निवर्तमान अध्यक्ष रामप्रसाद न्यौपाने लगायतले धारणा राखेका थिए ।

एमाले चितवनको जिल्ला अधिवेशन यही जेठ १६ गते सम्पन्न भएको थियो । नवनिर्वाचित समितिले आजै सपथग्रहण गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !