काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकाे संसदीय दलको बैठक आज बस्दै छ । कांग्रेसको संसदीय दलको बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने भएको हो ।
आज बस्ने काँग्रेसको संसदीय दलको बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र संसदको घटनाक्रमबारे छलफल हुने बताइएको छ ।
यसअघि आइतबार बसेको पार्टी पदाधिकारी बैठकले सरकार उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न भएकोबारे संसदीय छानबिन समिति नबनाउनेतर्फ लागेको निष्कर्ष निकाल्दै थप निर्णय संसदीय दलको बैठकबाट गर्ने निर्णय गरेको थियो ।
पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहकारी प्रकरणमा संसदीय समिति गठन गरेर संसदको अवरोध खुलाउन सकारात्मक देखिएका छन् । कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय समिति गठन नगरे संसदको अवरोध जारी राख्ने अडान राख्दै आएको छ ।