१९ बैशाख २०८१, बुधबार

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमालेका यामलाल कँडेल नियुक्त


यामलाल कँडेल

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् । कर्णाली प्रदेश प्रमुख तिलक परियारले कँडेललाई आज मंगलबार बेलुका मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

कँडेलले गठबन्धनमा रहेका नेकपा एमालेका ९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ सहित २३ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित आफूलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका थिए । कर्णालीमा सरकार गठनका लागि २१ जना सांसद्‌को आवश्यकता पर्छ ।

प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कँडेललाई मुख्यमन्त्री पदमा नियुक्त गरेसँगै लामो समयदेखिको मुख्यमन्त्री बन्ने कँडेलको चाहना पनि पुरा भएको छ ।

कर्णाली प्रदेशका प्रदेश प्रमुख परियारले मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न दिएको समयसीमा आज बेलुका ५ः५० बजे सकिँएको थियो । सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बीचको सहमतिका आधारमा नेता कँडेलले मुख्यमन्त्री पदमा दाबी पेस गरेका थिए ।

कर्णालीमाओवादी केन्द्रले आर्थिक मामिला तथा योजना, भौतिक पूर्वाधार तथा सहरी विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र सामाजिक विकास मन्त्रालयमा दाबी राख्दै आएको छ । एमाले कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक टेकराज पछाईंले मन्त्रालय विभाजनमा छलफलका आधारमा गरिने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !