२१ बैशाख २०८१, शुक्रबार

प्रतिनिधिसभाको बैठक बस्दै, सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्रीहरू


प्रतिनिधिसभाको बैठक

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँवानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको हो ।

आज बस्ने प्रतिनिधिसभाको बैठकमा वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

त्यस्तै उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले विमस्टेक बडापत्रको प्रावधानमाथि सदनमा छलफल र अनुमोदनका लागि बैठकमा प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।

साथै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले राष्ट्रियसभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !