२ बैशाख २०८१, आइतबार

सुरक्षा विकास र सुशासनको पूर्वशर्त हो : रक्षामन्त्री उप्रेती


हरिप्रसाद उप्रेती

काठमाडौँ । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले सुरक्षा मुुुुुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डतासँग अन्योन्याश्रित मात्र नभई सुशासन र विकासको पूर्वशर्त भएको बताएका छन् । उनले भरपर्दाे सुरक्षा प्रबन्ध नभई मुलुकको अस्मिता र अस्थित्वको रक्षा तथा नागरिकलाई भयरहित वातावरण सुनिश्चित गर्न नसकिने धारणा राखे ।

रक्षा मन्त्रालय र नेपाली सेनाद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा सञ्चालित १६ दिने उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम समापन समारोहमा रक्षामन्त्री उप्रेतीले भने, “राष्ट्रिय सुरक्षा र राष्ट्रियहितको संरक्षण र संवर्द्धन गर्नु प्रत्येक नेपालीको प्रमुख दायित्व हो ।”

सुरक्षा बहुआयामिक, अन्तरसम्बन्धित र बहुनिकायसँग सम्बन्धित सरोकार राख्ने विषय उल्लेख गर्दै उनले सुदृढ राष्ट्रिय सुरक्षाका लागि राज्यका निकायहरूबीच साझा धारणा बनाउन निरन्तर संवाद, समन्वय र सहकार्य आवश्यक रहेको बताए ।

सबैको सक्रियता, तत्परता र प्रयासबाट राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन भई मुलुकको आन्तरिक र बाह्य सुरक्षा सुदृढ हुने विश्वास व्यक्त गर्दै मन्त्री उप्रेतीले एसियाका ठूला शक्तिको बीचमा रहेको नेपालको भू–राजनीतिका हिसाबले राष्ट्रिय सुरक्षाको आफ्नै खाले चुनौती र महत्व रहेको बताए ।

उनले भने, “राष्ट्रिय अस्मिताको रक्षा र राष्ट्रिय हितको संरक्षणका लागि राष्ट्रका सबै शक्ति एक ढिक्का भएर उभिन आवश्यक छ । त्यो भावनाको विकास प्रत्येक जनजनमा हुन आवश्यक छ ।”

राष्ट्रिय सुरक्षाको आयाम विगतभन्दा जटिल हुँदै गएको बताउँदै रक्षामन्त्री उप्रेतीले राष्ट्रिय सुरक्षा भन्नाले भूगोलको मात्र रक्षा नभई राजनीतिक, आर्थिक, सामाजिक, वातावरण तथा मूल्य, मान्यताको संरक्षणसमेत भएको विचार प्रकट गरे ।

उनले राष्ट्रिय सुरक्षाको लागि राष्ट्रिय शक्तिको मुख्य तत्व अर्थतन्त्र, कूटनीति, सूचना र सञ्चार तथा सैन्य शक्तिलाई उचित नीति एवं साधन स्रोतले सम्पन्न गराउँदै समुचितरूपमा राष्ट्रिय हितमा प्रयोग गरी विद्यमान राष्ट्रिय सुरक्षा चुनौतीको डटेर सामना गर्नुपर्ने बताए ।

प्रधानसेनापति प्रभुराम शर्माले विभिन्न अनिश्चिता र अस्थिरताका कारण जटिल अवस्थामा सुरक्षित तथा सम्मुनत नेपाल निर्माण गर्न राज्यका अन्तरनिकायबीच समन्वय, सहकार्य र एकीकृत धारणा आवश्यक रहेको बताए ।

उनले भने, “भूमण्डलीकरण, सूचना प्रविधिको विकाससँगै आएको परिवर्तनले राष्ट्रिय सुरक्षाको दायरा थप फराकिलो बन्दै गएको छ । आर्टिफिसिएल इन्टेलिजेन्सले सिर्जना गरेको राम्रा र नराम्रा सुरक्षा चुनौती बारे थप अध्ययन र विश्लेषण हुनुपर्ने देखिएको छ ।”

सेनापति शर्माले परम्परागत सुरक्षा खतराको साथै जलवायु परिवर्तन, महामारी, साइवर असुरक्षा, आतङ्कवादका परिष्कृत प्रवृत्तिजस्ता नयाँ प्रकृतिका अपरम्परागत चुनौतीसमेत क्रमिकरूपमा थपिँदै गएको बताए ।

उनले सबै क्षेत्रका रणनीतिक तहमा रहेका नेतृत्व वर्गमा सामरिक सोचलाई थप परिष्कृत गर्दै राष्ट्रिय हितको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने कार्यलाई थप प्रभावकारी बनाउन सकिने बताए ।

कलेजका शिक्षाध्यक्ष उपरथी बाबुराम श्रेष्ठले राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने सरकारी तथा गैरसरकारी निकाय, सञ्चार जगत्बीच राष्ट्रिय सुरक्षाका बहुआयामिक विषयमा साझा सोच र पहिचान गर्ने उद्देश्यले तालिम सञ्चालन भएको बताए ।

उनले भने, “राष्ट्रिय सुरक्षाका विषयमा नीति निर्माण र कार्यान्वयनमा सुरक्षा क्षेत्रलाई यथेष्ट योगदान दिने सकियोस् भन्ने तालिमको हेतु रहेको छ । तालिममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा चासोका बारेमा गहन र रचनात्मकरूपमा छलफल र विश्लेषण गरियो ।”

मुख्य शिक्षक महासेनानी उत्तम सापकोटाले तालिमको उद्देश्य सहभागीलाई राष्ट्रिय सुरक्षासँग सम्बन्धित विविध विषयमा ज्ञान आदान प्रदान तथा सम्भावित सुरक्षा चुनौतीको सुक्ष्म अध्ययन र छलफल गरी चुनौतीको समाधाने उपायको पहिचान रहेकोे बताए ।

तालिमका अवसरमा राष्ट्रिय शक्तिका मुख्य स्रोत कूटनीतिक, सूचना, अर्थतन्त्र, सैैनिक, राष्ट्रिय सुरक्षानीति, भू–राजनीतिक तथा विदेश नीति, रणनीति निर्माण र योजना, जलवायु परिर्वन र यसको सुरक्षा चुनौती, मानवीय सहयोग तथा विपद् व्यवस्थापन एवं नागरिक–सैनिक विषयमा गहन छलफल भयो ।

नवौँ संस्करणको तालिममा विभिन्न मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग, राष्ट्रिय महिला आयोग, त्रिभुवन विश्वविद्यालय, नेपाल रेडक्रस सोसाइटी र विभिन्न सञ्चारमाध्यमका समेत २९ जना प्रशिक्षार्थीको सहभागिता थियो ।

विस २०७२ बाट सुरु भएको उक्त तालिमबाट विभिन्न मन्त्रालय, संवैधानिक निकाय, विश्वविद्यालय, सरकारी तथा गैरसरकारी संस्था, सञ्चारजगत्, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल एवं राष्ट्रिय अनुसन्धान विभागबाट हालसम्म दुई सय २२ जना प्रशिक्षित भइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !