२१ बैशाख २०८१, शुक्रबार

एमाले केन्द्रीय कमिटी बैठक : आजदेखि समूहगत छलफल


एमाले केन्द्रीय कमिटी बैठक

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा आजदेखि समूहगत छलफल सुरु हुने भएको छ । बैठकमा प्रस्तुत चारवटा कार्ययोजनामा आजदेखि समूहगत छलफल हुने भएको हो ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले छलफलका लागि नौ वटा समूह बनाइएको जानकारी दिए । आज बिहान १० बजेबाट समूहगत छलफल सुरु हुने भएको हो ।

विभाग प्रमुख गौतमका अनुसार बैठकमा पार्टीको समग्र साङ्गठनिक कामको समीक्षा, पार्टीको शुद्धीकरण तथा सुदृढीकरण कार्यक्रमको अवधारणा, जनआधारित कार्यकर्ता पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबका विषय र समसामयिक प्रस्ताव छन् ।

छलफलका लागि नौवटा समूह बनाइएको छ । समग्र केन्द्रीय कमिटीको टिमलाई नौवटा समूहमा विभाजन गरिएको हो । पार्टी स्थायी कमिटीको एउटा समूह, सात प्रदेशका सात समूह र बाँकी एउटा समूह उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन, विभागहरूको समूह बनाइएको छ ।

छलफलमा आएका निष्कर्षलाई केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरी पार्टी नेतृत्वले त्यसलाई सम्बोधन गर्नेछ । बैठक यही फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !