२५ बैशाख २०८१, मंगलबार

देशभरि प्रभाव पर्ने गरी निर्णय गर्नुस् : सभापति देउवा


शेरबहादुर देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस काठमाडौँको सम्मेलनले ठूलो महत्व राख्ने बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौँ जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै सभापति देउवाले देशको राजधानी भएकाले यहाँ राम्रो काम गर्नुपर्ने बताए । “काठमाडौँमा कांग्रेसको सङ्गठन महत्वपूर्ण छ, यहाँको सम्मेलनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा प्रभाव पार्छ, देशभरि प्रभाव पार्ने गरी राम्रो प्रस्ताव पास गर्नुहोस्”, उनले भने ।

सभापति देउवाले नेपाली कांग्रेस नेपाली जनताको पार्टी भएकाले सधैँ जनताका पक्षमा निर्णय गर्न निर्देशन दिए । उनले भने, “काठमाडौँ जिल्ला कार्यसमितिमार्फत देशैभरका कांग्रेसका नेता तथा कार्यकर्तालाई यो भन्न चाहन्छु कि कांग्रेस जनताको पार्टी हो, हाम्रा सबै निर्णय र कदम जनताका पक्षमा हुनु जरुरी छ ।”

कांग्रेस नेता प्रकाशमान सिंहले आगामी फागुन ७ गतेदेखि चल्ने नीति अधिवेशनका लागि पार्टीभित्र देखिएका अप्ठ्यारा फुकाउन आवश्यकपर्ने राय सुझाव दिन सबैलाई आग्रह गरे । उनले कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधानलाई कार्यान्वयन गर्नका लागि कांग्रेसले नै महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए ।

कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले केन्द्र, प्रदेश र स्थानीय तहमा सत्तामा भएको पार्टी कमजोर बनेकामा चिन्ता व्यक्त गरे । उनले कांग्रेस एक्लै चुनाव लडेर अगाडि बढेमात्र बलियो पार्टी बन्नसक्ने बताए ।

कांग्रेस ललितपुरका सभापति जीतेन्द्र श्रेष्ठले उच्च मनोबलका साथ पार्टीमा काम गरेर पार्टीभित्र एकताको सन्देश दिन जरुरी रहेको उल्लेख गरे । संविधानसभा सदस्य दीपकप्रसाद कुइँकेलले पार्टीलाई सुझबुझपूर्ण ढङ्गले अगाडि बढाउनुपर्नेमा जोड दिए ।

प्रदेशसभा सदस्य प्रभात तामाङले जनप्रतिनिधि र पार्टीबीच तालमेल हुन नसकेको उल्लेख गरे । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीले समुदाय एकातिर, कांग्रेस अर्कातिर हुँदै गएको आभास भएको बताए । काठमाडौँ महानगरपालिका–२६ का वडाअध्यक्ष ख्यामराज तिवारीले गुटको व्यक्तिलाई टिकट दिँदा पार्टी कमजोर भएको बताए ।

काठमाडौँ क्षेत्र नं ९ का सभापति जयकृष्ण महर्जन, कांग्रेस काठमाडौँ महानगर सभापति नीलकाजी शाक्य, टोखा नगरपालिका–४ का सभापति रवीन्द्र श्रेष्ठलगायतले पार्टीलाई चलायमान बनाएर अगाडि बढ्न सुझाव दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !