२१ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री प्रचण्डसँग बेलायतका सेनाध्यक्षको शिष्टाचार भेट


प्रधानमन्त्री प्रचण्ड र सर प्याट्रिक स्यान्डर्स

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बेलायती सेनाका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सले शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटमा नेपाल–बेलायत सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँहरूबीच द्विदेशीय सहयोग विस्तारबारे पनि छलफल भएको थियो ।

नेपालको प्रमुख विकास साझेदार बेलायतले नेपालको सामाजिक–आर्थिक उन्नयनका निम्ति निरन्तर सहयोग गरेकामा प्रधानमन्त्री दाहालले हार्दिक आभार व्यक्त गरेका थिए ।

शिष्टाचार भेटमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार, परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, नेपालका लागि बेलायतका राजदूत तथा यहाँस्थित बेलायती राजदूतावासका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो ।

आजै उनले उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का तथा प्रधानसेनापति प्रभुराम शर्मासँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !