२१ बैशाख २०८१, शुक्रबार

परराष्ट्रमन्त्री साउद र नोवेल पुरस्कार विजेता सत्यार्थीबीच भेटवार्ता


एनपी साउद र कैलाश सत्यार्थी

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद र नोवेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीबीच भेटवार्ता भएको छ । परराष्ट्र मन्त्रालयमा सोमबार उहाँहरुबीच भेटवार्ता भएको हो ।

भेटका अवसरमा परराष्ट्रमन्त्री साउदले बालअधिकारको क्षेत्रलगायत अन्य सामाजिक क्षेत्र र परोपकारी काममा नेपाल र भारतमा सत्यार्थीले पुर्याएको योगदानको चर्चा गरेका थिए । सत्यार्थीलाई सन् २०१४ मा बाल अधिकारको क्षेत्रमा काम गरेवाफत नोवेल शान्ति पुरष्कार प्रदान गरिएको थियो ।

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँगै मन्त्रालय पुगेका सत्यार्थी र मन्त्री साउदबीच आगामी मार्च महिनामा लुम्बिनीमा हुने ‘लरेट्स एन्ड लिडर्स’ नामकमा शिखर सम्मेलनको तयारी बारे पनि छलफल भएको थियो ।

लुम्बिनी सरकारले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा बालबालिकाको हित, दिगो विकास र शान्तिका लागि ‘लरेट्स एन्ड लिडर्स’ नामकमा शिखर सम्मेलन आयोजना गर्दैछ । लुम्बिनी सरकारले आर्थिक वर्ष २०८०/०८१ वार्षिक नीति तथा कार्यक्रम र बजेटमै समेटेको शिखर सम्मेलन मार्च ११ र १२ मा आयोजना गर्न लागेको हो।

उक्त शिखर सम्मेलनमा विश्वभरबाट विकासको क्षेत्रमा काम गरिरहेका विज्ञ, अभियन्ता, संयुक्त राष्ट्रसंघीय निकायका उच्च अधिकारी, सरकारी तथा गैरसरकारी क्षेत्रका प्रतिनिधिहरुलाई आमन्त्रण गरिने लुम्बिनी प्रदेश सरकारले जनाएको छ ।

‘लरेट्स एन्ड लिडर्स’ नामकमा शिखर सम्मेलन आयोजनाले शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मभूमि लुम्बिनीको प्रचार–प्रसारमा थप टेवा पुग्ने आयोजकले अपेक्षा गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !