१४ फाल्गुन २०८०, सोमबार

प्रतिभा र श्रम शक्तिको पलायन मुलुकले भोगिरहेको सबैभन्दा जटिल समस्या हो : राष्ट्रपति पौडेल


रामचन्द्र पौडेल

दमौली । राष्ट्रपति रामचन्द्र पौडेलले गाँउ गाँउमा विकास र सुविधा पुगेपनि सम्मानजनक रोजगारी र आम्दानीको अवस्था सृजना नहुँदा ती विकास र सुविधाको उपभोग गर्ने मान्छे कोही नहुने हुन् कि भन्ने चिन्ता प्रकट गरेका छन् ।

तनहुँको भानु नगरपालिकामा रहेको पूर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समारोहलाई सम्बोधन गर्दै शुक्रबार राष्ट्रपति पौडेलले विदेश मोहले लठ्ठिएका आफूहरू आफ्नै नाभीको सुगन्ध खोज्दै भीरभीरै भौतारिने अवस्था रहेको गुनासो पनि गरे ।

उनले भने– ‘अबका दुईचार वर्षमा यी सबै गाँउहरूमा कालोपत्रे सडक पुर्याउन हामी लागेका छौं । म भन्छु, त्यो पनि पूरा गरिन्छ । तर, समस्या उही हो, त्यो सुविधा उपभोग गर्ने मान्छे गाँउमा कोही रहने हुन कि हैनन् ? विदेश मोहले लठ्ठिएका हामी आफ्नै नाभीको सुगन्ध खोज्दै भीरभीरै भौतारिने हाम्रो हालत छ । आखिर किन भयो यस्तो ? यो प्रश्न म आफैसँग गरिरहेको छु । उत्तर पनि म सँगै छ । गाऊँमा सवैथोक पुग्यो तर “सम्मानजनक रोजगारी र आम्दानी” को अवस्था बनेन ।’

राष्ट्रपति पौडेलले अहिले मुलुकले भोगिरहेको मुख्य समस्या नै प्रतिभा पलायन, श्रम शक्तिको पलायन भएको उल्लेख गर्दै भने– ‘अहिले यहाँ पढ्ने र पढाउने दुवैथरि मेरा प्रशंसाका पात्र हुनुहुन्छ । यहाँ पढेर राम्रो शिक्षा हासिल गरिसकेपछि धेरैजसो शहर पस्नुभो । उतै बस्नु भयो । गाऊँको समस्या यही हो । अब आज देशको समस्या प्रतिभा पलायन, श्रम शक्तिको पलायन – मुलुकले भोगिरहेको समस्यामध्ये सबैभन्दा जटिल छ ।’

राष्ट्रपति पौडेलले आफूले पहिलोचोटी चुनाव लड्दा २०४८ सालमा वरभञ्ज्याङको डाडोमा उभिएर “गाऊँबाट अस्थिर भएको मनलाई गाऊँमा नै आधुनिक सेवा र सुविधा ल्याएर गाऊँमा नै वसौं वसौं बनाउँंछु’’ भनेको स्मरण गर्दै आफूले ग्रामीण स्वावलम्बनअन्र्तगत मोटर गाडी र स्वास्थ्य चौकी अनि सातौं विद्युतीकरणको खाका लिएर त्यहाँ पुगेको र अहिले सबै गाऊँमा बाटो, बिजुली, पानी, शिक्षा, स्वास्थ्य र सञ्चार पुगेको बताए । उनले गाँउ गाँउमा सवै विकास र सुविधा पुगेपनि गाऊँ रित्तिने क्रम नटुटेको भन्दै चिन्ता व्यक्त गरे ।

राष्ट्रपतिमा निर्वाचित भएपछि दोश्रो पटक गृहजिल्ला पुग्नुभएको राष्ट्रपति पौडेलले आफूले बैदी – छिपछिपेको डाँडा र मादी सेती काली किनारमा उभिएर देशको समृद्धिका मुख्य आधार – कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको प्रचुर विकास भएको र यसका लागि लागि पहिलो खाँचो सुशासनको भएको बताउँदै आएको स्मरण गर्दै आफू त्यही एजेण्डामा आज पनि उभिएको स्ष्पट पारे ।

उनले हामीले श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न जरुरी रहेको र अवको शिक्षा पनि यीनै विषयमा केन्द्रित हुनुपर्ने धारण राखे । राष्ट्रपति पौडेलले भने–‘हाम्रो राष्ट्रसँग जुन मलिलो माटो छ, स्वच्छ जलवायु छ, वायो डाइभर्सिटी छ । त्यसलाई हामीले चिन्न सकेनौ । हामी फोस्रा नारामा बढी बहकियौं । कुन उचाई र कुन पाटोमा के उब्जनी हुन्छ ? त्यो ठम्याएर खेती गरौं । जलवायुको ख्याल गरेर प्रविधिको प्रयोग गरौं ।’

उनले हाम्रो संस्कृति र हाम्रो प्रकृतिको कोरीबाटी गरेर पर्यटन पूर्वाधारहरूको विकास गरे गाऊँमै रोजगारी र आम्दानी आउँने बताए । पौडलले भने–‘हिमालबाट उर्लेर वग्ने हाम्रा नदीनालाबाट हजारौ मेघावाट उर्जा उत्पादन गरी छिमेकमा समेत विक्री गरौं, हामी यहीबाट धनी हुन्छौ । आफ्नो परिवार तडपाएर विदेशतिर भौतारिन पर्दैन । आफ्नै नाभीको कस्तुरी सुगन्ध खोज्दै भिरभिरै लतारिनु पर्दैन । आफैले आफैलाई चिनौं – गाऊँमुखी बनौं – नेपालमुखी बनौं, हाम्रो स्कूलमा पढाउने यही नै हो असली राष्ट्रवाद ।’

राष्ट्रपति पौडेलले शिक्षा ज्ञान, चेतना र देशको सर्वाङगिण विकासको आधारशीला भएको बताउदै शिक्षाको साथसाथै जीवनको आदर्श उच्च बनाउने र राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्ने नैतिक शिक्षा आजको आवश्यकता भएको उल्लेख गरे । उनले भने–‘शिपबिना तथा आचरणबिनाको नागरिकबाट देश सम्बृद्ध हुन सक्दैन । त्यहिभएर सामुदायिक विद्यालयहरूको शैक्षिकस्तर वृद्धि गरी सीपवान र शीलवान नागरिक बनाउनेतर्फ हामी सबैको ध्यान जानुपर्छ भन्ने मलाई लाग्छ ।’

सूचना प्रविधि, विश्वव्यापीकरण र आधुनिकताले ओतप्रोत भएको वर्तमान विश्व परिवेशको मागअनुरुपको शीक्षा नीति, पाठय्क्रम र प्रविधियुक्त प्रतिस्पर्धी तथा गुणस्तरीय पठनपाठनको विकास गरी राष्ट्रिय आवश्यकता तथा अन्तर्राष्ट्रिय गुणस्तर अनुरुपको शिक्षा प्रदान गर्नेतर्फ अगाडि बढ्नुपर्ने राष्ट्रपति पौडेलको भनाई थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु