११ श्रावण २०८१, शुक्रबार

मनाइयो सङ्घीय संसद् सेवा दिवस


सङ्घीय संसद् सेवा दिवस

काठमाडौँ । विसं २०५८ मा निजामती सेवाबाट अलग भइ स्वायत्त संसद् सेवा गठन भएको स्मरणमा सङ्घीय संसद् सचिवालयले आज सङ्घीय संसद् सेवा दिवस मनाएको छ । सिंहदरबारस्थित सचिवालयका विशेष समारोहका आयोजना गरी दिवस मनाइएको हो । नेपालको संविधानको धारा २०७ मा सङ्घीय संसद्को काम कारबाही सञ्चालन तथा व्यवस्थापन गर्न एक सचिवालय रहने र त्यस्तो सचिवालयको स्थापना तथा तत्सम्बन्धी अन्य व्यवस्था सङ्घीय कानुनबमोजिम हुने व्यवस्था छ ।

निजामती सेवा ऐनबाट निकालेर छुट्टै ऐनद्वारा सञ्चालित संसद् सेवा विशिष्ट, स्वायत्त र व्यावसायिक सेवा हो । कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, सांसद र कर्मचारीको सहभागिता रहेको थियोे । कार्यक्रममा सभामुख घिमिरेले संसद्को प्रभावकारिता बढाउन विगतको समीक्षासहित स्थायी कर्मचारीको गरिमामय भूमिका स्थापित गर्न आवश्यक रहेको बताए ।

उनले आफुहरु कर्मचारीको क्षमता र सक्रियतामा निहीत हुने जनाउँदै संसद्लाई आवश्यक पर्ने जनशक्ति, सूचना, प्रविधि, भौतिक सामग्रीलगायत उपलब्ध गराउनु सङ्घीय संसद् सचिवालयको कार्य भएको उल्लेख गरे । संसद् सेवाको विशिष्ट कार्य प्रणालीले विधायिकी कार्य र संसदीय कामकारबाहीमा अविच्छिन्न सहयोग पुगेको उनको भनाइ छ ।

सभामुख घिमिरेले स्थायी सरकारको रुपमा रहेका कर्मचारी वर्गको वृत्ति विकास, विशेषज्ञता र मितव्ययी आचरण आजको दिनमा अपेक्षित रहेको उल्लेख गरे ।
अध्यक्ष तिमिल्सिनाले सरकारले संसदलाई सीमा तोकेर नभइ मागका आधारमा बजेट निर्धारण गर्नुपर्ने बताए । सो अवसरमा मन्त्री गुरुङले संसद्का कर्मचारीको सुविधा वृद्धि गर्न प्रधानमन्त्री र अर्थमन्त्रीसँग कुरा गर्ने विश्वास दिलाए । उपसभामुख इन्दिरा रानाले कर्मचारीलाई विभेदरहित सुविधा दिलाउन पहल गर्नुपर्ने बताइन् ।

राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले वृत्ति विकासमा सचिवालयका कर्मचारीलाई प्रश्रय दिनुपर्नेमा जोड दिइन् । मुख्य सचिव डा. बैकुण्ठप्रसाद अर्यालले सरकारका काममा सघाउन र अनुगमन गर्न सचिवालयका कर्मचारीको भूमिका सक्रिय रहेकोे बताए ।

सचिवालयका आधिकारिक कर्मचारी युनियनका अध्यक्ष गोविन्द बेल्वासे जैसीले दिवसको केही दिनअघि महासचिवको राजीनामा आउनु र नयाँ नियुक्तिमा सचिवालयका लामो समय काम गरेकालाई प्राथमिकता नदिइएको गुनासो गरे । कार्यक्रममा दीर्घ सेवा पदक र खेलकुद प्रतियोगितामा विजयीलाई पुरस्कार प्रदान गरिएको थियोे । सो अवरमा सचिवालयका कार्यबाहक महासचिव पदमप्रसाद पाण्डेयले उत्कृष्ट हुने कर्मचारीको नाम घोषणा गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !