९ फाल्गुन २०८०, बुधबार

प्रधानमन्त्री प्रचण्ड महोत्तरीको बर्दिबासमा


प्रधानमन्त्री प्रचण्ड

महोत्तरी । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको आन्तरिक बैठक र प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज विहान महोत्तरीको बर्दिबास आइपुगेका छन् ।

अध्यक्ष दाहाल बिहान ९ बजेदेखि बर्दिबास–४ माइस्थानमा दलको तीन महिने रुपान्तरण अभियानको मधेस प्रदेश समीक्षा बैठकमा सहभागी रहेको माओवादी केन्द्रका मधेस प्रदेश इञ्चार्ज लिलामणि पोखरेलले बताए ।

उनले बैठकमा मधेस प्रदेशबाट पार्टी केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने सदस्य, जिल्ला इञ्चार्ज र रुपान्तरण अभियानका जिल्ला संयोजकबीच अभियानारे समीक्षा भइरहेको जानकारी दिए । प्रदेशका आठवटै जिल्लामा सञ्चालित अभियानको जिल्ला इञ्चार्जबाट जानकारी लिएपछि अध्यक्ष दाहालले थप निर्देशन दिने छन् ।

अध्यक्ष दाहाल आजै दिउँसो जिल्लाको गौशाला–५ स्थित बहुद्देश्यीय भवनमा सञ्चालन हुने पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुनेछन् । प्रशिक्षणमा प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश समिति पदाधिकारी तथा सदस्य, अभियानका जिल्ला संयोजक र सम्बद्ध सदस्यहरु, जिल्ला अध्यक्षसहित एक हजार आठ सय नेता सहभागी हुनेछन् । सो कार्यक्रम सकिएपछि प्रधानमन्त्री दाहाल आजै काठमाडौँ फर्किने छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !