९ फाल्गुन २०८०, बुधबार

सरकार फेरबदलको कुरा भएको छैन : महामन्त्री शर्मा


बिश्वप्रकाश शर्मा

बाजुरा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले सरकार फेरबदलको कुरा नभएको बताएका छन् । नेपाल प्रेस युनियन बाजुरा शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकार फेरबदलबारे गठबन्धन र पार्टीमासमेत कुनै कुरा नभएको बताएका हुन् ।

महामन्त्री शर्माले सरकारबाट भएका कमीकमजोरीको आलोचना गर्ने र सकारात्मक कामको प्रशंसा गर्ने काम पनि पार्टीबाटै हुनुपर्ने उल्लेख गरे । नेपाली कांग्रेसकै सरकार हुँदा पनि गलत कार्यको विरोध गर्नु लोकतान्त्रिक अभ्यास भएको उनको भनाइ थियो ।

सरकारले गर्ने हरेक गतिविधिमा निगरानी गरेर गलत भए खबरदारी र सही कामको समर्थन गर्न पछि नहट्ने महामन्त्री शर्माले प्रतिबद्धता जनाए ।

पार्टीले आयोजना गर्न लागेको महासमितिको अधिवेशन नेतृत्व चयन नभएर नीति बनाउने अधिवेशन भएको प्रष्ट पार्दै उनले महासमितिको अधिवेशनमा नेतृत्वको लागि चयनभन्दा पनि नीति बनाउने चिन्ता पार्टीका नेतामा हुनुपर्नेमा जोड दिए ।

महामन्त्री शर्माले भने, “मिसन ८४ का लागि चिन्ता लिन पर्दैन, २०८१–८३ सालसम्म देशलाई कस्तो बनाउने र देशलाई सही मार्गमा कसरी लैजाने भन्नेमा चिन्ता गर्नुपर्छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !