१८ असार २०८१, मंगलबार

इजरायलबाट नेपाली स्वदेश फर्काउन दुई वटा विमान तयारी अवस्थामा


एनपी साउद

काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलबाट नेपाली स्वदेश फर्काउन दुई वटा विमान तयारी अवस्थामा राखेको छ । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले विमान तयारी अवस्थामा राखिएको जानकारी दिएका हुन् ।

आज मंगलबार सिंहदबारमा बसेको समितिको बैठकमा उनले इजरायलबाट नेपालीलाई स्वदेश फर्काउनका लागि नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सका दुई वटा जहाज तयारी अवस्था राखिएको बताए ।

उनले इजरायलमा रहेका २०० जनाभन्दा बढी व्यक्तिले नेपाल फर्कन अनलाइन रजिस्ट्रेसन गरिसकेको बताए । मन्त्री साउदले इजरायलको दक्षिणी क्षेत्रमा प्यालेस्टाइनकाे हमास समूहबाट आक्रमण भएको जानकारी दिँदै अहिले त्यहाँ युद्धको अवस्था रहेको बताए ।

उनले इजरायलमा ४५ सय केयर गिभर र २६५ बिद्यार्थी रहेकाेमा दक्षिणी क्षेत्रमा हमासकाे आक्रमणमा १० जनाकाे निधन भएको जानकारी गराए । ४ जनाकाे उपचार भइरहेकाे र एकजनाकाे अवस्था पहिचान नभएको उनको भनाइ छ ।

उनले ५५ जना विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको बताउँदै उत्तरी क्षेत्रमा रहेका हरूलाई बंकरमा राख्ने व्यवस्था गरिएको जानकारी गराए । मन्त्री साउदले परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावासमा सम्पर्क व्यक्ति तोकेर स्वदेश फर्कन चाहनेको विवरण संकलन गरेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !