१५ असार २०८१, शनिबार

संघीय सांसदको कार्य कानून निर्माण गर्ने हो : मन्त्री पण्डित


Lalbabu Pandit

१९ जेठ, विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबुु पण्डितले संघीय सांसदको कार्य कानून निर्माण गर्ने भएको बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारले प्रत्येक निर्वाचन क्षेत्रको विकास कोषका लागि छुट्याएको रु चार करोड रकममा संघीय सांसदहरुले सहयोगी भूमिका मात्र निभाउनु पर्ने प्रष्ट पार्नुभयो ।

उहाँले उक्त रकम खर्च गर्ने सम्बन्धमा सरकारले आवश्यक प्रक्रिया ल्याउन नै बाँकी रहेको बताउनुभयो । मन्त्री पण्डिले स्थानीय निकायका प्रमुख पदका ९५ प्रतिशत कर्मचारी पठाइसकिएको र उनीहरुले आफ्नो कार्य गरिरहेको बताउँदै बाँकी रहेको कर्मचारी यही जेठ मसान्तसम्म आ–आफनो कार्य क्षेत्रमा पुगी जनताको सेवामा तल्लीन हुने उल्लेख गर्नुभयो ।

उहाँले स्वच्छिक अवकास हाल स्थगित रहेको जानकारी दिँदै नियमित रुपमा अहिलेसम्म दुई हजार कर्मचारीले अवकास लिएको र बाँकीले आफ्नो कार्य प्रारम्भ गरि सकेका छन् भन्नुभयो ।

उहाँले कर्मचारीका सम्बन्धमा प्रस्तावित संघीय निजामती विधेयक कानून मन्त्रालय पुगेको जानकारी दिँदै निजामतीमा धेरै कर्मचारी संगठन आवश्यक नरहेको र एउटा निर्वाचित कर्मचारी संगठन मात्र हुनुपर्ने धारणा राख्नुभयो ।
प्रदेशमा कर्मचारीको पदपूर्तिका लागि आवश्यक प्रदेशिक लोकसेवा आयोग निर्माण भई सोहीअनुसार हुने बताउँदै उहाँले अहिले आवश्यक रहेको केही प्राविधिक पदमा कर्मचारी राख्न सकिने धारणा व्यक्त गर्नुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !