१२ श्रावण २०८१, शनिबार

प्रचण्डले भारतको सहयोगमा प्रधानमन्त्री बनेको भनेर भन्नुभएको छैन : गृहमन्त्री श्रेष्ठ


नारायणकाजी श्रेष्ठ फाइल फोटो

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू भारतको सहयोगमा प्रधानमन्त्री बनेको भन्ने अभिव्यक्ति नदिएको बताएका छन् ।

आज बिहीबार बिहान चितवनको भरतपुरमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्री प्रचण्डको बचाउ गर्दै भारतको सहयोगमा प्रधानमन्त्री भएको भन्ने अभिव्यक्ति नदिएको जिकिर गरेका हुन् ।

उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्रीले सरकार बनाउन भारतले सहयोग गरेको भन्ने कुरा सत्य नरहेको बताए । बाहिर आएका समाचार हेर्दा पनि प्रधानमन्त्री बन्न भारत जानुपर्छ भन्ने नदेखिएको उल्लेख गर्दै उनले नेपालको प्रधानमन्त्री नेपालको संसद्ले निर्वाचित गर्ने बताए ।

प्रधानमन्त्रीले आफूलाई प्रधानमन्त्री बन्न भारतको सहयोग रहेको भन्ने अभिव्यक्ति नदिएको भन्दै उनले यस विषयमा प्रधानमन्त्रीले नै स्पष्ट पार्ने बताए । लोकतान्त्रिक व्यवस्थामा प्रधानमन्त्रीको निर्वाचन संसद्बाट संविधानअनुसार हुने बताउँदै उनले संवैधानिकरुपमा कुनै विकल्प छ भने आफूहरु मान्न तयार रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटकपटक भारत गएको भन्ने अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले प्रधानमन्त्रीको राजीनामा माग गरेपछि गृहमन्त्री श्रेष्ठले स्पष्टीकरण दिएका हुन् ।

सोमबार प्रधानमन्त्री प्रचण्डले प्रीतम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटकपटक भारत गएको अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्ति देशहितविरुद्ध रहेको भन्दै नेकपा एमालेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद् बैठक चल्न नदिने अडान राखेर संसद् बैठक अवरुद्ध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !