१२ श्रावण २०८१, शनिबार

माधवजी र मैले फेरि नेकपातिरै फर्कनुपर्छ भनेका छौँ : प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री प्रचण्ड

भक्तपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन नेकपालाई एकताबद्ध गर्नुपर्नेमा जोड दिएका छन् ।

आज आइतबार भक्तपुरमा आयोजित कम्युनिस्ट संस्थापक नेता नारायणविलास जोशीको ३४औँ स्मृति दिवस कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले तत्कालीन नेकपा एकता नटिके पनि पुनः नेकपातिरै फर्कनुपर्ने स्पष्ट पारेका हुन् ।

प्रचण्डले नेकपा एमालेसँग एकता गरेर बनाएको नेकपा नटिक्नु दुर्भाग्य भए पनि पुनः एकताको अभियानमा लाग्नुपर्ने बताए । उनले नेकपा बन्दा जनतामा ठुलो उभार देखा परेको र प्रतिगामीहरू डराएको भए पनि आफ्नै कारणले एकता टिक्न नसकेको बताए ।

उनले समाजवादी मोर्चा घोषणाका बेला पनि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र आफूले फेरि नेकपातिरै फर्किनुपर्ने र पुनः पार्टीलाई एकताबद्ध गर्नुपर्ने उल्लेख गरेको उनले बताए ।

त्यसका लागि समाजवादी मोर्चा बनाएर वामपन्थीलाई एकताबद्ध गर्ने पहल सुरु गरिसकेको उनले उल्लेख गरे । उनले एक पटक असफल भए पनि त्यसबाट शिक्षा लिएर फेरि अगाडि बढ्ने उद्देश्य राख्नुपर्ने पनि बताए

प्रचण्डले विचार र राजनीतिमा कहाँ त्रुटि थियो भनेर सबैले सोच्नुपर्ने पनि बताए । सबै कम्युनिस्टले आफ्ना त्रुटि सच्याएर अघि बढ्नुपर्नेमा उनले जोड दिए । उनले एक पटक असफल भए पनि फेरि एकता गर्ने उद्धेश्यले अघि बढ्नुको विकल्प नभएको दोहोर्‍याए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !