२२ बैशाख २०८१, शनिबार

प्रतिनिधिसभाद्वारा राष्ट्रपति पौडेललाई धन्यवाद ज्ञापन


प्रतिनिधिसभाको बैठक

काठमाडौँ । प्रतिनिधिसभाले राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि धन्यवाद ज्ञापन गरेको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले सो सम्बोधनका लागि धन्यवाद ज्ञापन गर्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो ।

त्यसअघि बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गर्नुभएको सम्बोधनको प्रति टेबुल गरेका थिए । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम आज आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए ।

बैठकको अन्त्यमा सभामुख देवराज घिमिरेले नीति कार्यक्रममाथि छलफल गर्नका लागि यही जेठ ७ देखि ११ गतेसम्म तोकेका छन् । छलफलका लागि दलीय प्रतिनिधित्वका आधारमा नाम बुझाउनुपर्ने छ ।

सभामुख घिमिरेले राष्ट्रियसभाको बैठकबाट सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०७५ संशोधन मस्यौदा समितिमा रहने तीन सदस्यको नाम मनोनयनसम्बन्धी सन्देशको जानकारी गराएका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ७ गते बिहान ११ बजे बस्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !