१२ श्रावण २०८१, शनिबार

सिंहदरबारमा संवैधानिक परिषदको बैठक जारी


संवैधानिक परिषदको बैठक

काठमाडौं । संवैधानिक परिषद्को बैठक जारी रहेको छ । संवैधानिक परिषदको बैठक आज सोमबार साँझ ६ बजे सिंहदरबारमा बसेको हो ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार दिउँसो सिंहदरवारमा भएको छलफलपछि संवैधानिक परिषद् बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बोलाइएको थियो ।

प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि यसअघि बसेको बैठकले टुंगोमा पुग्न सकेको थिएन । यसअघिको बैठकमा एमाले अध्यक्ष ओलीले संसदीय सुनुवाइ विशेष समिति गठन नभएसम्म प्रधानन्यायाधीश नियुक्ति नहुने भएकाले पहिले संसदीय समिति टुंगो लगाउनुपर्ने अडान राखेका थिए ।

प्रधानन्यायाधीश नियुक्तिमा प्रधानमन्त्री प्रचण्डले सक्रियता देखाइरहेका छन् । नेपाल बार एसोसिएशनले न्यायालयको नेतृत्व गर्ने प्रधानन्यायाधीश नहुँदा न्याय सम्पादनमा असर परेको भन्दै प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष ओलीलगायतका नेताहरूलाई दिँदै आइरहेको छ ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग दर्ता भएसँगै २०७८ साल फागुन १ गतेदेखि सर्वोच्च अदालत प्रधानन्यायाधीशविहीन रहेको छ । सर्वोच्च अदालत लामो समयदेखि कायममुकायम प्रधानन्यायाधीशको भरमा चलिरहेको छ ।

आज बस्ने बैठकले प्रधानन्यायाधीश नियुक्त गर्ने प्रवल सम्भावना रहेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की रोलक्रममा रहेका छन् । संवैधानिक परिषदको सिफारिस गरेको व्यक्ति संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्ति हुने व्यवस्था रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !