१२ श्रावण २०८१, शनिबार

प्रधानमन्त्री भ्रष्टलाई जोगाउने र एमालेलाई फसाउने खेलमा हुनुहुन्छ : अध्यक्ष ओली


केपी शर्मा ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टलाई जोगाउने र प्रतिपक्षी एमालेका नेताहरुलाई फसाउने खेलमा रहेको आरोप लगाएका छन् ।

पार्टीको युवा संगठन राष्ट्रिय युवा संघको कार्यक्रममा आज बोल्दै अध्यक्ष ओलीले कसैलाई लखेटी लखेटी हत्कडी लगाउने र कसैलाई छाड्ने प्रधानमन्त्री प्रचण्डको रवैया एमालेलाई सह्य नहुने चेतावानी समेत दिएका छन् ।

ओलीले आफूहरु भ्रष्टाचार गर्नेलाई जोगाउने पक्षमा नलाग्ने तर सरकारले निर्दोष व्यक्तिलाई फसाउन नपाउने पनि बताएका छन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणको सन्दर्भ उठाउँदै एमालेले कसैको बचाउ नगर्ने भन्दै प्रधानमन्त्रीले कसैलाई बचाउन खोजेको आफूले संकेत पाएको बताएका हुन् ।

ओलीले पार्टीले भ्रष्टाचारको ढाकछोप नगर्ने तर आफ्नो पार्टीविरुद्धमा षडयन्त्र भएमा त्यो सह्य नहुने बताए । उनले ट्रेलर मात्र नभएर सिनेमा नै देखाउन प्रधानमन्त्री प्रचण्डलाई चुनौती दिए ।

ओलीले पार्टीकै केही मान्छेले व्यक्तिगत रुपमा कसैले भ्रष्टाचार गर्छ भने त्यसलाई एमालेले नसहने पनि बताए । तर नक्कली भुटानी शरणार्थी प्रकरणलाई एमालेतिर लक्षित गर्ने कोशिस भइरहेको भन्दै ओलीले आपत्ति जनाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !