७ बैशाख २०८१, शुक्रबार

जनताको सेवाका लागि हरपल सहकार्य गर्छु : स्वास्थ्यमन्त्री बस्नेत


मोहनबहादुर बस्नेत

काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनताको सेवाका लागि हरपल सहकार्य गर्ने बताएका छन् । मन्त्रालयमा आज पदभार ग्रहणपश्चात मन्त्री बस्नेतले पत्रकारसँगको कुराकानीमा आफ्नो बढीभन्दा बढी समय मन्त्रालयसँग सहकार्य गर्ने रहेको बताए ।

उनले स्वास्थ्य सङ्कटमा सबै पक्ष जनता बचाउनेतर्फ केन्द्रित हुनुपर्ने बताए । “स्वास्थ्य सङ्कटमा पहिला जनता बचाऔँ अनि राजनीति गरौैँ । वर्तमान परिप्रेक्ष्यमा स्वास्थ्य क्षेत्रमा देखिएका विभिन्न रोगबाट उन्मुक्तिका लागि सबै जनाले ‘एक घन्टा आफ्नो लागि’ नारासहित अघि बढौँ”, उनले भने ।

विगतमा स्वास्थ्यमन्त्री हुँदा गरेका उत्कृष्ट कार्य, लिएका अनुभव र हाल पाएको जिम्मेवारीले मन्त्रालयमा रहेका कमी–कमजोरीलाई न्यूनीकरण गरी सबै पक्षसँग सहकार्य र समन्वय गरी स्वास्थ्य क्षेत्रको सुधारोन्मुख दिशामा प्रतिबद्ध रहने उनको भनाइ छ ।

मन्त्रालयले गर्ने हरेक कार्यको पारदर्शिता कायम गरी कर्मचारीको कार्यसम्पादनको प्रभावकारिताका आधारमा सरुवा तथा स्तरोन्नतिको अवसर प्रदान गर्ने उनले बताए । पदभार ग्रहणपश्चात मन्त्री बस्नेतले चार निर्णय गरेका छन् ।

उनले स्वास्थ्य उपचारका नियमित सेवाका अलावा समय क्रममा विकसित भई सङ्क्रामक एवं महामारीका रूपमा फैलिने कोभिड, डेङ्गु र अन्य सरुवा रोग फैलिन नदिन मन्त्रालयले नीतिगत नेतृत्वका साथै सङ्घ, प्रदेश र स्थानीय तहसँगको पारस्परिक समन्वय र व्यवस्थापनलाई चुस्तदुरुस्त गरी आम नागरिकको स्वास्थ्य उपचारसँगै जीवन सुरक्षाका लागि तीनै तहका सरकारका साथै दातृ निकाय एवं सङ्घसंस्थाको साझेदारी र लगानीमा स्वास्थ्योपचार विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छन् ।

दोस्रो निर्णयका रूपमा स्वास्थ्य बिमा कार्यक्रममा सर्वसाधारण नागरिकसमेतको सहज पहुँच र सुविधाका लागि सरलीकृत गर्न आवश्यक भएकाले दातृ निकायसमेतको सहभागिता जुटाई स्वास्थ्य संस्थामार्फत स्वास्थ्य बिमाको सेवालाई थप व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउने रहेको छ ।

तेस्रो, आम नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि मन्त्रालयले प्रदेश तथा स्थानीय तहहरूमा साधन, स्रोत, स्वास्थ्य उपकरण र सेवा सुविधासहित चिकित्सकलाई अधिकतम परिचालन गर्ने रहेको छ ।

त्यसैगरी स्वास्थ्य सेवा प्रवाहका लागि सङ्घ, प्रदेश र स्थानीय तहहरूमा रहेका अस्पतालबाट भइरहेको उपचारात्मक सेवा र उपलब्ध स्रोत र साधन (औजार उपकरण) को अत्यधिक उपयोग भए/नभएको समेत समग्र क्षेत्रको अनुगमन गरी मन्त्रीसमक्ष प्रतिवेदन पेस गर्न अतिरिक्त स्वास्थ्य सचिवको नेतृत्वमा देहायबमोजिमको अनुगमन समिति गठन गर्ने निर्णय रहेको छ ।

राजनीतिक पृष्ठभूमि

मन्त्री बस्नेत नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै विसं २०५६ र २०६८ को आम निर्वाचनमा सिन्धुपाल्चोक–१ बाट प्रतिनिधिसभा र दोस्रो संविधानसभा सदस्यका रूपमा निर्वाचित भएका थिए । विसं २०७४ मा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री बनेका बस्नेत त्यसअघि २०५६ मा प्रधानमन्त्री देउवाकै नेतृत्वमा स्वास्थ्य राज्यमन्त्री भएका थिए ।

विसं २०१५ मा सिन्धुपाल्चोकमा जन्मिएका बस्नेतले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरको पढाई पूरा गरेका छन् । सिन्धुपाल्चोक क्षेत्र नं २ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यमा गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित मोहनबहादुर बस्नेतले नेकपा (एमाले)का उम्मेदवार शेरबहादुर तामाङलाई पराजित गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !