२३ बैशाख २०८१, आइतबार

आज मन्त्रिपरिषद् विस्तार हुँदै, एनपी साउद परराष्ट्रमन्त्री बन्दै


एनपी साउद

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज आठौं पटक मन्त्रिपरिषद् विस्तार गर्दैछन् । नयाँ मन्त्रीहरुको शपथ आज अपराह्न ३ बजे तय गरिएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसको निर्णय अनुसार साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्न लागेका हुन् ।

बालुवाटार स्रोतका अनुसार आज आइतबार दिउँसो ३ बजे साउदको सपथ ग्रहणको तयारी गरिएको छ । साउदलाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्नका लागि कांग्रेसले बालुवाटारमा पत्र समेत पठाइसकेको छ ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तयारी गर्नको लागि परराष्ट्रमन्त्रीको तत्काल आवश्यक परेकोले साउदलाई आज आइतबार शपथग्रहण गराउने तयारी गरिएको हो । गठबन्धनमा मन्त्रालयको भागवण्डा हुँदा कांग्रेसले परराष्ट्र मन्त्रालय पाएको थियो ।

सत्ता गठबन्धनमा भएको भागवण्डा अनुसार कांग्रेसले ८ वटा मन्त्रालय पाएको छ । तर सो पार्टीको संस्थापन शेरबहादुर देउवा समूह र संस्थापनइतर डा. शेखर कोइराला समूहमा सहमति हुन नसकेकोले यसअघि कांग्रेसले ४ जना मन्त्री मात्रै सरकारमा पठाएको छ ।

संस्थापन देउवा समूहबाट साउद परराष्ट्रमन्त्री बन्ने भएका हुन् । यस्तै उक्त समूहबाट मोहनबहादुर बस्नेत र सुरेन्द्र आचार्यको पनि मन्त्री बन्ने सम्भावना रहेको छ ।

काँग्रेसको शेखर समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने निश्चित जस्तै भएको छ । सो समूहबाट धनराज गुरुङ, डिगबहादुर लिम्बु, जीवन परियार र बद्री पाण्डेमध्ये कुनै तीन जनाको प्रवल सम्भावना रहेको छ ।

कांग्रेसबाट उपप्रधान तथा रक्षा मन्त्रीमा पूर्णबहादुर खड्का, अर्थमन्त्रीमा डा. प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा रमेश रिजाल र शहरी विकास मन्त्रीमा सीता गुरुङ नियुक्त भइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !