२३ बैशाख २०८१, आइतबार

बागमती प्रदेशमा काँग्रेसका नवनियुक्त दुई मन्त्रीले लिए सपथ


बागमतीमा मन्त्रिपरिषद् विस्तार, काँग्रेसका दुई मन्त्रीले लिए सपथ

हेटौडा । बागमती प्रदेशको मन्त्रिपरिषद् आज विस्तार भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाली कांग्रेसलाई पनि सरकारमा सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

कांग्रेसको तर्फबाट संसदीय दलका नेता बहादुरसिंह लामा तथा अर्का सांसद तीर्थ लामा सरकारमा मन्त्रीको रुपमा सहभागी भएका हुन् । मुख्यमन्त्री जम्कट्टेलले काँग्रेसका बहादुरसिंहलाई आर्थिक मामिला तथा योजनामन्त्री तथा तीर्थलाई खानेपानी, सिंचाई तथा उर्जामन्त्री नियुक्त गरेका हुन् ।

बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् । आजै साँझ उनीहरुलाई मन्त्री नियुक्त गरेर सपथ खुवाइएको छ ।

मुख्यमन्त्री जम्कट्टेलले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरेका हुन् । बागमती प्रदेशमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र हाम्रो नेपाली पार्टीको संयुक्त गठबन्धनबाट जमकट्टेल पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

उनले पुस २६ गते तीन सदस्यीय मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । जसमा आर्थिक मामिला तथा योजनामन्त्री नेकपा एमालेका जगन्नाथ थपलिया र ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राप्रपाका उद्धव थापा नियुक्त भएका थिए ।

माघ ४ गते विश्वासको मत पाएसँगै मुख्यमन्त्री जमकट्टेलले एमाले र राप्रपाको गरी थप तीनजना मन्त्री नियुक्त गरेका थिए । फागुन १३ गते बागमती सरकारबाट राप्रपाले समर्थन फिर्ता लिएको थियो । सोही दिन राप्रपाका तर्फबाट मन्त्री बनेका तीनजनाले पदबाट राजीनामा दिएका थिए ।

मुख्यमन्त्री जमकट्टेलले चैत १० गते पुनः विश्वासको मत लिने क्रममा एमालेले विश्वासको मतको विपक्षमा मतदान गर्दै सरकारबाट बाहिरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !