२४ बैशाख २०८१, सोमबार

प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दै


प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद् विस्तार गर्दै छन् । मन्त्रिपरिषद् विस्तारका लागि आज शुक्रबार बिहान प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनका शीर्ष नेताहरुसंग एक चरण छलफल गर्ने भएका हुन् ।

आज बिहान प्रधानमन्त्री प्रचण्डले गठबन्धनका शीर्ष नेताहरुसंग छलफल गरेर दिउँसो १ बजेभित्र दलहरुलाई मन्त्री बन्नेहरुको नामावली बुझाउन निर्देशन दिने बुझिएको छ । दलहरुले मन्त्री बन्नेहरुको नामावली दिएमा मन्त्रिपरिषद् विस्तार गरी दिउँसोसम्ममा शपथ गराउने प्रधानमन्त्रीले तयारी गरेका छन् ।

गठबन्धनका दलहरुमा मन्त्रालय बाँडफाँडमा विवाद हुँदा हिजो मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन । हिजै मन्त्रिपरिषद् विस्तार गरेर सपथ गराउने लक्ष्य राखेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को इच्छा आज पुरा सकेन ।

केही मन्त्रालयमा धेरै दलको दाबी रहेका कारण विवाद उत्पन्न भएर गठबन्धनका दलहरूले मन्त्रीको नाम सिफारिस गर्न नसकेकोले हिजो मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो । मन्त्रालयको भागवण्डा मिलाउन प्रधानमन्त्री प्रचण्डले गठबन्धन दलका शीर्ष नेताहरुसँग बेग्लाबेग्लै छलफल गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डको सचिवालय स्रोतका अनुसार आज शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेर दिउँसो ३ बजे नयाँ मन्त्रीहरुको शपथ गराउने तयारी गरिएको छ । बुधबार अपरान्ह बसेको गठबन्धनको बैठकमा मन्त्रालयको भागबण्डाको विषयमा सैद्धान्तिक सहमति मात्र भएको थियो ।

प्रचण्डले ९ दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । गठबन्धनका दलहरूबीच कति वटा मन्त्रालय पाउने भन्ने विषयमा सैद्धान्तिक सहमति भएपनि कुन-कुन मन्त्रालय कुन पार्टीले पाउने भन्ने विषयमा आज सहमति हुन लागेको हो ।

बुधबार बसेको गठबन्धन बैठकमा नेपाली कांग्रेसलाई ८, नेकपा (माओवादी केन्द्र) लाई प्रधानमन्त्रीसहित ५, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) लाई २/२, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले १/१ मन्त्रालय दिने सैद्धान्तिक सहमति भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !