२४ बैशाख २०८१, सोमबार

प्रतिनिधिसभामा अख्तियारको बार्षिक प्रतिवेदन पेश


संसद विश्वासको मत

काठमाडौं । प्रतिनिधि सभामा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बार्षिक प्रतिवेदन पेश भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को तर्फबाट संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बार्षिक प्रतिवेदन (आर्थिक बर्ष २०७८/०७९)’ पेश गरेकी हुन् ।

प्रतिनिधि सभााको आजको बैठकको शुरुमा सांसदहरु शुन्य तथा बिशेष समयमा बोल्दै सभामुख मार्फत समसामयिक र जनसरोकारका बिषयमा सदन तथा सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।

बिशेष समयमा बोल्दै नेपाली काँग्रेसका सांसद श्याम घिमिरेले एक लाख ऋण दिएर दश लाखको तमसुक बनाउने तथा कतिपय ठाउँमा जग्गा पनि पास गरेर मिटर व्याजीहरुले लिने गरेको भन्दै पीडितहरुलाई तत्काल न्याय दिनु पर्ने बताए । उनले गाउँगाउँसम्म लघुबीत्त मार्फत नै सस्तो व्याजदरमा पैसा जनतासम्म पुर्याउनु पर्ने विचार व्यक्त गर्दै सिन्धुली जिल्लामा जंगली हात्तिको आक्रमणबाट दैनिकजसो जनधनको क्षति हुँदै आएकाले त्यसको स्थायी समाधानका लागि सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।

अयोग्य लडाकूलाई दुई–दुई लाख वितरण गर्ने र द्वन्द्वकालमा मारिएका सबैलाई सहिदको सूचीमा राख्ने सरकारको निर्णय ठिक नभएको जिकिर गर्दै सांसद घिमिरले देशको आर्थिक अवस्था नाजुक अवस्थामा रहेकाले पैसो बाँड्ने र सरकारी खर्च बढाउने कुनै पनि काम गर्न नहुने बताए ।

उनले किसानहरुलाई आवश्यक पर्ने बीऊबिजन र कृषि मल आपूर्तिको लागि निजी क्षेत्रलाई समेत अधिकार दिनु पर्ने धारणा राख्दै राजधानीको वीर अस्पताल र टिचिङ्ग अस्पतालको क्षमता बृद्धिका लागि सरकारको ध्यानाकर्षण गराएका थिए ।

बिशेष समयमा नेकपा(एमाले)की सांसद भगवती चौधरीले अहिले गरिब जनताहरु मिटर व्याजीहरुबाट मात्र नभई बैंक तथा बित्तीय संस्थााहरुको चर्को व्याजबाट समेत पीडित बनिरहेको उल्लेख गर्दै मृत्यु संस्कार, विवाह भोज तथा सामान्य चाडबाड मनाउनका लागि समेत गरिब किसानहरुले ऋण लिनुपर्दा उनीहरु मिटर व्याजीको फन्दामा परेको दाबी गरिन् ।

मुलुकमा स्पष्ट कानून नहुँदा एक लाख ऋण दिएर दश लाखको कागज गर्न लगाउँदा समेत मिटर व्याजीहरुलाई कानूनी दायरामा ल्याउन असहज भएको सांंसद चौधरीको भनाई थियो ।

नेकपा(माओवादी केन्द्र)का सांसद हितबहादुर तामाङले कर र राजश्व छलि गरेर अकूत सम्पत्ति कमाएका ठूला व्यक्तिहरुले आफ्नो पैसालाई मिटर व्याजमा लगाउने गरेको दावी गर्दै अहिले गरिब जनतामा मात्र नभई मिटर व्याजीहरुले जुवा खालमा समेत लगानी गर्ने गरेको बताए । जुवा खालमा लगानी गर्ने मिटर व्याजीहरुले पैसा तिर्न नसके ऋणीको घर जग्गासमेत कब्जा गर्ने गरेको बताउँदै सांसद तामाङले सरकारले हालै मिटर व्याज पीडितहरुको समस्या अध्ययन गर्न समिति गठन गरेको र समस्याको स्थायी समाधानका लागि संसदमा विधेयक ल्याउन लागेको भन्ने समाचारहरु आएकाले यसलाई ढिलाई गर्न नहुने बताए ।

बिशेष समयमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपालको पर्यटन उद्योग सुरक्षित छ भन्ने सन्देश विश्वव्यापीरुपमा दिन नसक्दासम्म प्रबद्र्धन हुन नसक्ने बताइन् । उनले नेपालमा हवाई दुर्घटनाको संख्या अधिक भएको तथा आईकाओ र विभिन्न पक्षले बेलोबेलामा दिएको सुझावलाई कार्यान्वयन गर्न नसक्दा पनि पर्यटनको विकास हुन नसकेको दावी गरिन् ।

लोसपाका सांसद रामप्रकाश चौधरीले कडा कानून बनाएर मिटर व्याजीहरुलाई कारबाही गर्नुपर्ने राय प्रस्तुत गर्दै छिटो भन्दा छिटो मिटर व्याज पीडितको समस्या समाधान गर्नुपर्ने बताए । एनसेललाई कुनै पनि बहानामा कर छुट दिन नमिल्ने बताउँदै अटेरी ठेकेदारहरुलाई कालोसूचीमा राखेर कारबाही गर्न सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।

नागरिक उन्मुक्ती पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले मिटर व्याज पीडितहरु लामो पैदल यात्रा गरेर राजधानीमा न्याय माग्न आएकाहरुलाई अब न्यया दिन ढिलाई गर्न नहुने बताइन् । पहिचान माग्दा कोशी प्रदेशमा पदम लिम्बूले मृृत्युवरण गर्नुपरेको दावी गर्दै सांसद श्रेष्ठले स्व. लिम्बूलाई अहिले सरकारले सहिद घोषणा गर्ने प्रपञ्च गरिरहेको बताइन् ।

उनले हिजो मात्र आफ्नो कैलालीका व्यापारीहरुसँग भेटघाट भएको र उनीहरुले अहिले सीमा पारी नेपाली रुपियाँ मात्र चल्ने गरेको कुरा सुनाएको सदनलाई जानकारी गराइन् । उनले एक दुई खर्ब नेपाली रुपियाँ अहिले बाँके बर्दियाको सीमा रहेको त्यहाँका व्यापारीहरुले आफूलाई जानकारी दिएको भन्दै यस बिषयमा राष्ट्रबैंकको गर्भनरलाई थाहा छै कि छैन ? प्रश्न समेत गरिन् ।

बिशेष समयमा नेकपा(एमाले)का सचेतक महेश बर्तौैलाले सत्ता गठबन्धन दलहरुबीच मन्त्रालयहरुको झिनाझम्टीले जनताका समस्या र जनसरोकारका बिषयमा सरकारको ध्यान जान नसकेको दाबी गर्दै सडकमा जनताले बोल्न पाउने अवस्था नरहेको बताए ।

उनले भने, ‘नागरिकको मुख प्रहरी लगाएर थुन्ने काम गरिन्छ । के लोकतन्त्र भनेको यही हो ? यस्तो परिस्थितिको चाँडै अन्त्य होस् ।’ सांसद बर्तौलाले मकवानपुर जिल्लाको थाहा नगरपालिकामा अवस्थित बागेश्वरी माध्यामिक विद्यालयमा दैनिक पढ्न जाने र आउने विद्यार्थीहरुले दैनिक ६ घण्टा पैदल हिँडेर जानुपर्ने अझै पनि बाध्यता रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

सांसद बर्तौलाले कम्तिमा पनि एक पालिकामा एक आवासीय विद्यालयको व्यवस्था गर्नको सरकारको ध्यानाकर्षण गराउँदै दिवा खाजाको व्यवस्था सामुदायिक विद्यालयहरुमा मात्र नभई अन्य विद्यालयहरुमा समेत लागू गर्दै लैजानु पर्ने बताए ।

बिशेष समयमा सांसदहरु क्रमशः रामकुमार राई, गणेश पराजुली, बुद्धिमान तामाङ, भानुभक्त जोशी, अनिता देवी, योगेन्द्र मण्डल, दिनेशकुमार यादव, रामकुमार राई, गणेश पराजुली, प्रदिप यादव, सुनिता बराल, देवप्रसाद तिमल्सेना लगायतले बोलेका थिए । प्रतिनिधि सभाको अर्को बैठक यही चैत्र १९ गते दिउँसो १ बजेका लागि डाकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !