![डा. सिके राउत, महन्थ ठाकुर र रञ्जिता श्रेष्ठ](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2023/03/Dr.-CK-Raut-Mahantha-Thakur-and-Ranjita-Shrestha234.jpg?fit=1316%2C550&ssl=1)
काठमाडौँ । मधेशकेन्द्रित तीन पार्टीहरु लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकताको सहमति भएको छ ।
उपराष्ट्रपतिको निर्वाचनको लागि मधेशकेन्द्रित अर्को पार्टी जसपाबिरुद्ध लोसपा, जनमत र नागरिक पार्टीबीच कार्यगत एकताको मोर्चाबन्दी गरेका हुन् ।
हिजो शनिबार साँझ तीन दलबीच विभिन्न ‘एजेन्डा’मा सहकार्य गरी अगाडि बढ्ने निर्णय भएको नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी) ले जानकारी दिए ।
उनका अनुसार मधेश र थारुहट आन्दोलनका मुद्दाको सम्बोधन, नागरिकता विधेयक, आन्दोलनकारीमाथिका मुद्दा फिर्ता, राजबन्दीको रिहाइ, विगतका सहमति कार्यान्वयलगायतका एजेन्डासहित सहकार्य गर्ने सहमति भएको हो । कार्यगत एकताका लागि तीन पार्टीबीच सहमति पत्रसमेत तयार भएको बताइएको छ ।
उक्त सहमति पत्रमा जनमत पार्टीकातर्फबाट अध्यक्ष डा. सिके राउत, लोसपाका अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी) ले हस्ताक्षर गर्नुभएको छ ।
तीन पार्टीबीच उपराष्ट्रपति निर्वाचनमा पनि सहकार्य गर्ने निर्णय भएको छ । उपराष्ट्रपतिमा जनमत पार्टीले ममता झालाई उम्मेदवार बनाएको छ ।