१२ श्रावण २०८१, शनिबार

सरकार र विप्लव माओवादीबीच सहमति कार्यान्वयन गर्ने विषयमा वार्ता


सरकार र विप्लव माओवादीबीच वार्ता

काठमाडौँ । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच आज वार्ता भएको छ । सरकार र विप्लव माओवादीबीच सिंहदरवारस्थित गृह मन्त्रालयमा आज बिहीबार दिउँसो वार्ता भएको हो ।

सरकार र विप्लव माओवादीबीच आज भएको वार्तामा यसअघि भएको सहमति कार्यान्वयन गर्ने विषयमा वार्ता भएको बताइएको छ । वार्तामा विप्लव नेकपासँग सम्बन्धित मुद्दा चाडो टुंग्याउन अहिलेसम्म भएका प्रगतिबारे छलफल भएको हो ।

आजको वार्तामा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाण, निवर्तमान कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्दप्रसाद शर्मा, महान्यायाधीवक्ता खम्मबहादुर खाती र गृहसचिव विनोदप्रकाश सिंह सहभागी थिए भने विप्लव नेकपाको तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड सहभागी थिए ।

नेकपासँगका मुद्दा टुंग्याउन गत भदौ २१ गते बसेको मन्त्रिपरिषद् बैठकले गृह प्रशासनमै रहेका मुद्दा प्रशासनिक प्रक्रिया र राजनीतिक तवरबाट टुंग्याउने र अदालती प्रक्रियामा पुगेका मुद्दालाई टुंग्याउन वर्तमान कानुनले अफ्ट्यारो पर्ने भएमा संशोधन गरेर भए पनि टुंग्याउने निर्णय गरेको थियो ।

नेकपाका प्रवक्ता विश्वकर्माले आफ्नो पार्टीसँग भएको सम्झौता कार्यान्वयको विषयमा जिज्ञासा राखेका थिए भने जवाफमा गृहमन्त्री खाणले सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !