११ बैशाख २०८१, मंगलबार

आगामी निर्वाचनपछि एमालेको बहुमत स्थिर सरकार बन्छ : अध्यक्ष ओली


केपी शर्मा ओली बागलुङ

बलेवा । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनपछि एमालेको बहुमत सरकार बन्ने बताएका छन् ।

नेकपा एमाले बागलुङले बागलुङको बुर्तिबाङ बजारमा आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थिर सरकारले मात्रै विकास र समृद्धिको कामलाई अघि बढाउन सकिने भएकोले सरकार राष्ट्र निर्माणको सुदृढ शक्ति हुनुपर्नेमा जोड दिए ।

सरकार कमजोर हुँदा राष्ट्र निर्माणका काममा बाधा हुने उनको भनाइ थियो । एउटै दलको शक्तिशाली सरकारले जनचाहना अनुसारका विकास निर्माणका काम गर्न सक्ने उहाँले बताए ।

नेकपा एमालेले आगामी मङ्सिर चार गतेको निर्वाचनमा बहुमत प्राप्त गर्ने अध्यक्ष ओलीले बताए । “यो निर्वाचन देशको भविष्यसँग जोडिएको छ, एमाले मात्रै विकास गर्ने पार्टी हो, यहाँका जनताका समस्या एमालेले बुझ्ने छ”, अध्यक्ष ओलीले भने ।

उनले एमाले पार्टी एक ढिक्का भएको बताए । कुनै गुट उपगुट एमालेमा नरहेको भन्दै उनले पार्टी बिगार्न लागेकाहरु बाहिरीएपछि ढुक्क भएको टिप्पणी गरे ।

अध्यक्ष ओलीले मङ्सिर चार गतेपछि बन्ने एमाले सरकारले गुमेको नेपालको भूमि कुटनीतिक पहलद्वारा फिर्ता ल्याउने बताए । “हिजो रेलका कुरा गर्दा हावादारी भन्थे, अहिले रेल चल्यो त, म आँफै चडेर आएँ”, ओलीले भने, “अब पूर्वपश्चिम रेलमार्गको खाका एमालेले कोरेर देखाउँछ ।” कार्यक्रममा बागलुङका प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारहरुले सम्बोधन गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !