१३ बैशाख २०८१, बिहिबार

सिन्धुपाल्चोकमा-२ मा पूर्वमन्त्रीहरु तामाङ र बस्नेतको कडा प्रतिस्पर्धा


शेरबहादुर तामाङ र मोहनबहादुर बस्नेत

मेलम्ची । सिन्धुपाल्चोक क्षेत्र नं २ को निर्वाचन रोचक बन्दै गएको छ । प्रभावशाली नेता चुनावी मैदानमा उत्रिएका कारण यो पटकको निर्वाचन रोचक बनेको हो । यस क्षेत्रमा २०७० र २०७४ मा निर्वाचित एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ र नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

तामाङ यसअघिको जीतलाई कायम राख्ने दाउमा छन् भने बस्नेत यो क्षेत्रमा खाता खोल्ने दाउमा छन् । नेकपा (एमाले)को तर्फबाट तामाङ एक्लै चुनावी मैदानमा होमिएका छन् भने बस्नेत लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार हुन् ।

सिन्धुपाल्चोक क्षेत्र नं १ मा सत्ता गठबन्धनको साझा उम्मेदवार बन्नका लागि अग्निप्रसाद सापकोटा र मोहन बस्नेत दुवैको बलियो जिकिर थियो । सभामुखसमेत रहेका सापकोटा २०७४ मा बस्नेतलाई पराजित गरेर माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

सिट बाँडफाँटमा माओवादीले सिन्धुपाल्चोक– १ पायो भने नेपाली कांग्रेसले सिन्धुपाल्चोक– २ पायो । माओवादीले माधवप्रसाद सापकोटालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । नेपाली कांग्रेसले सिन्धुपाल्चोक क्षेत्र नं २ मा मोहनबहादुर बस्नेतलाई उम्मेदवार बनाएको छ ।

गत स्थानीय तहको चुनावमा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा सिन्धुपाल्चोक–२ मा एमाले पहिलो दल बनेको थियो । एमालेले ३१ हजार सात सय ७६ मत पाउँदा कांग्रेसका वडाध्यक्ष उम्मेदवारले २९ हजार तीन सय दुई मत ल्याएका थिए । नेकपा माओवादी केन्द्रले १६ हजार ७९ मत पाउँदा राप्रपाले पाँच हजार नौ सय ३२ र नेकपा एकीकृत समाजवादीले एक हजार छ सय ६३ मत पाएको थियो ।

लामो समय माओवादीबाट राजनीति गरेका र हालै मात्र एमाले प्रवेश गरेका चौतारा साँगाचोकगढीका अमानसिंह तामाङलाई सिन्धुपाल्चोक २ (क) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनाइएको छ । गठबन्धनकातर्फबाट नेकपा माओवादीका युवराज दुलाल साझा उम्मेदवार रहेका छन् । दुलाल यसअघि विसं २०७४ मा पनि यसै प्रदेशबाट निर्वाचित सांसद हुन् ।

यस्तै सिन्धुपाल्चोक २ को (ख) बाट प्रदेशसभाका लागि एमालेले हस्तबहादुर पण्डितलाई उम्मेदवार बनाएको छ । पण्डित २०७४ को निर्वाचनमा हेलम्बु गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका निमा ग्याल्जेन शेर्पासँग पराजित भएका थिए । उता सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले युवा कृष्णकुमार तामाङलाई अघि सारेको छ ।

गठबन्धनका नेताहरुले भने टिकट वितरण र विगतको राजनीतिमा जेजस्ता अनुभव भए पनि अब टिकट पाउनेलाई जिताउन प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका छन् । देशभर एमाले नेतृत्वको गठबन्धन र सत्ता गठबन्धनबीच प्रतिस्पर्धा रहेकाले प्रतिस्पर्धीका रुपमा जिल्लामा पनि नेताहरुले आ–आफ्ना तर्फबाट भूमिका निर्वाह गर्ने नेपाली कांग्रेसका जिल्ला सभापति जङ्गबहादुर लामाले बताए ।

एमालेका नेताले पनि सिन्धुपाल्चोक–२ को चुनावी नतिजा पार्टीकै प्रतिष्ठासँग जोडिएको बताउँदै आएका छन् । स्थानीय तहको निर्वाचनमा भएको मत नियाल्दा पहिलो दल एमाले भए पनि गठबन्धनमा रहेका दलको मत जोड्दा एमालेको मत केही कम देखिन्छ । एमालेका जिल्ला अध्यक्ष कमल नेपालले भने आत्तिनुपर्ने अवस्था नरहेको बताए ।

कांग्रेस नेता बस्नेत २०४८ कै आम निर्वाचनमा सिन्धुपाल्चोक–१ बाट चुनावी प्रतिस्पर्धामा भाग लिँदै आएका छन् । विसं २०४८ मा एमालेका अमृतकुमार बोहरासँग पराजित भएका बस्नेतले २०५६ मा उनै बोहरालाई नै हराएर सांसद बने । विसं २०६४ मा टिकट पाए पनि हार बेहोर्नुपरे पनि २०७० मा चुनाव जितेर बस्नेत मन्त्रीसमेत भए । अघिल्लो संसदीय चुनावमा उहाँ माओवादी नेता अग्निी सापकोटासँग पराजित भए ।

एमाले उम्मेदवार शेरबहादुर तामाङले सुरुका दुई चुनाव हार्नुभयो भने पछिल्ला दुवै चुनाव जितेका थिए । पहिलो पटक २०५६ मा नेकपा मालेबाट सिन्धुपाल्चोक–३ मा उम्मेदवार बनेका उनले २०६४ सालमा एमालेबाट उम्मेदवार बनेपछि पराजय बेहोर्नु परेको हो । विसं २०७० मा सिन्धुल्पोल्चोक–३ बाटै पहिलो पटक तामाङले चुनाव जितेका थिए । तीन वटा निर्वाचन क्षेत्र घटेर अहिले दुईवटामा झरेपछि तामाङ २०७४ सालमा क्षेत्र नं २ बाट विजयी भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु