१४ आश्विन २०८१, सोमबार

अध्यक्ष तिमिल्सिनाले चिनियाँ सभामुखसमक्ष उठाए उत्तरी नाका र बिआरआईको विषय


ली झान्सु र गणेशप्रसाद तिमिल्सिना

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल र नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका महामहिम अध्यक्ष ली झान्सु नेतृत्वको संसदीय प्रतिनिधि मण्डलबीच भेट भएको छ ।

नयाँ वानेश्वस्थित संघीय संसद भवनमा अध्यक्ष तिमिल्सिना नेतृत्वको राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेता, सचेतक तथा सांसदहरूसँग झान्सु नेतृत्वको प्रतिनिधि मण्डलवीच द्विपक्षीय भेटवार्ता भएको हो ।

भेटवार्ताको अवसरमा राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले चिनियाँ सभामुखसमक्ष उत्तरी चीनसंगको नाका खुलाउन र बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) को विषय पनि उठाएका छन् ।

अध्यक्ष अध्यक्ष तिमिल्सिनाले सभामुख लीसमक्ष दुई पक्षीय सम्बन्धलाई जोड दिंदै नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताएका थिए । अध्यक्ष तिमिल्सिनाले कोरोला र तातोपानी नाका दशैंअघि नै खुलाउन आग्रह गर्दै बिआरआई लगायत बहुपक्षीय साझेदारी र संसदीय साझेदारीमा जोड दिन चिनियाँ पक्षलाई आग्रह गरेका थिए ।

जवाफमा चिनियाँ सभामुख झान्सुले दुई नाकाहरु छिटै खुल्ने विश्वास दिलाउँदै चीनद्वारा नेपालमा संचालित आयोजनाहरुमा तत्काल कामदार पठाउनका लागि आफूले पहल गर्ने बताएका थिए ।

अध्यक्ष तिमिल्सिनाले नेपालको औपचारिक भ्रमणमा आएकोमा लीको नेतृत्वमा रहेका सम्पूर्ण प्रतिनिधिमण्डललाई संघीय संसदको माथिलो सदन राष्ट्रिय सभा र आफ्नो तर्फबाट समेत स्वागत गरेका थिए । उनले लीको नेपाल भ्रमण अत्यन्तै सफल, फलदायी र उपलब्धिमूलक रहनेछ भन्नेमा पूर्ण विश्वास समेत व्यक्त गरेका छन् ।

उनले आगामी १६ अक्टोवरमा हुन गईरहेको चिनियाँ कम्यूनिष्ट पार्टीको २० औं राष्ट्रिय कंग्रेसको भव्य सफलताका लागि शुभकामना व्यक्त गर्दै उक्त कंग्रेसको पूर्वसन्ध्यामा र नेपालमा समेत चुनाव घोषणा भई सकेको वर्तमान सन्दर्भमा लीले आफ्नो कोभिडपछिको पहिलो विदेश भ्रमणको लागि नेपाललाई प्राथमिकतामा राख्नु भएकोमा कृतज्ञता व्यक्त गरेका थिए ।

हिमालय वारपार रेल मार्गले यस क्षेत्रमा कल्पनातीत रुपान्तरण ल्याउने कुरामा दुईमत नभएको भन्दै चिनियाँ विदेशमन्त्री वाङ वीको भ्रमणको अवसरमा केरुङ्ग काठमाडौं रेलमार्गको संभाव्यता अध्ययनका लागि महत्वपूर्ण प्राविधिक सहायतासम्बन्धी सम्झौता भएको स्मरण गराए ।

नेपालका परराष्ट्रमन्त्रीको यही अगष्टमा भएको चीन भ्रमणका क्रममा छिट्टै संभाव्यता अध्ययन गर्न र प्राविधिक टोली नेपाल पठाउन दुवै पक्ष सहमत भएको विषयले आफूलाई एकदमै खुसी लागेको पनि बताए । चिनीयाँ सहयोगमा सञ्चालित परियोजना र चिनीयाँ ठेकेदार कम्पनीले जिम्मेवारी पाएका परियोजनाहरू छिटो सम्पन्न गर्नेतर्फ पनि ध्यानाकर्षण समेत गराएका थिए ।

नेपालका पछिल्ला सहमति, समझदारी र प्रतिवद्वताले नेपाल र चीन सडक, रेल, हवाईमार्ग, सुरुङ्गमार्ग, सुख्खा बन्दरगाह लगायत अन्तरदेशीय प्रशारण लाइन एवम् पेट्रोलियम पाइपलाइनजस्ता रणनीतिक र महत्वपूर्ण सञ्जालवाट निकट भविष्यमा जोडिनेछन् भन्नेमा आफू विश्वस्त भएको पनि बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !