२४ बैशाख २०८१, सोमबार

राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयकको सन्देश राष्ट्रियसभामा टेबुल


राष्ट्रियसभाको बैठक

काठमाडौँ । राष्ट्रियसभामा राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकको सन्देश टेबुल भएको छ । राष्ट्रियसभाको आजको बैठकमा सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका हुन् ।

यसैगरी बैठकमा सचिव फुयाँलले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको ‘नेपाल नागरिकता (पहिलो संशोधनन) विधेयक २०७९’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी पनि गराएका थिए । सचिव फुयालले राष्ट्रपतिबाट पुनर्विचारका लागि औंल्याइएका विभिन्न ८ बुँदाहरुलाई समेत पढेर सुनाएका थिए ।

बैठकमा राष्ट्रिय सभाका सचिव फुयालले प्रतिनिधि सभामा उत्पत्ति भई सो सभाबाट पारित भएका ‘बीमा विधेयक, २०७५’, ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६’, ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’ सम्बन्धी प्रतिनिधि सभाबाट प्राप्त सन्देशहरु र राष्ट्रिय सभाले पारित गरी प्रतिनिधि सभामा पठाइएको ‘शहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६’लाई प्रतिनिधि सभाले संशोधन सहित फिर्ता पठाएको सन्देश सभा समक्ष टेबुल गरेका थिए ।

सचिव फुयालले नै राष्ट्रिय सभाबाट पारित भई सन्देश सहित प्रतिनिधि सभामा पठाइएका ‘शपथ सम्बन्धी विधेयक, २०७८’, ‘तथ्याङ्क विधेयक, २०७६’, ‘स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७६’ र ‘प्रत्यायन विधेयक, २०७६’ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको सभालाई जानकारी गराएका थिए ।

त्यसैगरी, राष्ट्रिय सभाको आजको बैठकले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयकमाथि प्रतिनिधि सभाबाट भएको संशोधनलाई स्वीकृत गरेको थियो । पहिलो बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देबेन्द्र पौडेलले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतीले स्वीकृत गरेको थियो ।

बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट ‘नेपाल ईन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५’ लाई प्रमाणिकरण गरी पठाइएको सम्बन्धमा प्राप्त पत्रको व्यहोरा पढेर सदनलाई जानकारी गराएका थिए ।

बैठकमा अध्यक्ष तिमिल्सिनाले विभिन्न मितिमा विदेश भ्रमणमा गएका नेपाल सरकारका मन्त्रीहरुको कार्यभार अन्य मन्त्रीहरुलाई तोकिएको सम्बन्धी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा समेतसदनलाई जानकारी गराएका थिए ।

पत्रानुसार, परराष्ट्रमन्त्री डा. नारायण खड्का गत साउन २४ गते चीन र खानेपानी मन्त्री उमाकान्त चौधरी गत साउन २८ गते अमेरिका भ्रमणमा गएकाले प्रधानमन्त्रीको शिफारिसमा उनीहरुको कार्यभार समेत संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई तोकिएको तथा ऊर्जा, जलस्रोत तथा सिंचाइँमन्त्री पम्फा भुसाल गत साउन २५ गते फिनल्याण्ड भ्रमणमा रहेकाले उनको अनुपस्थितिमा सो मन्त्रालयको कार्यभार अर्थमन्त्री जनार्दन शर्मालाई तोकिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !