११ श्रावण २०८१, शुक्रबार

महाअभियोग सिफारिस समितिको बैठक आज पुनः बस्दै


महाअभियोग सिफारिस समिति

काठमाडौँ । महाअभियोग सिफारिस समितिको बैठक आज पुनः बस्दै छ । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिको बैठक आज बुधबार दिउँसो २ बजे बस्ने भएको हो ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि छानबिन गर्न गठित महाअभियोग सिफारिस समितिको तेस्रो बैठक आज बस्न लागेको हो । महाअभियोग सिफारिस समितिको हिजोको बैठकमा सांसदहरूले निर्वाचनको समयमा आएर गठन भएको समितिले तयार पारेको प्रतिवेदन संसद्मा प्रवेश पाएन भने त्यसको अर्थ नहुने धारणा राखेका थिए ।

सिंहदरबारमा हिजो समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टको सभापतित्वमा बसेको बैठकमा सांसद विष्णु पौडेलले ६ महिना समय कटाएर तीन महिनाको समयमा गर्नुपर्ने काम निर्वाचनको मुखमा आएर समिति गठन गरेको भन्दै समितिले तयार गरेको प्रतिवेदन समितिमा निर्णयार्थ प्रस्तुत हुन नपाउने हो कि भन्ने चिन्ता व्यक्त गरेका थिए ।

समितिका सभापति विष्टले आजको बैठकमा कार्यविधिको मस्यौदामाथि छलफल गरेर कसरी अगाडि बढ्ने भन्ने विषय तय गरिने जानकारी दिए । हिजो खास विषयवस्तुमा प्रवेश नै नगरिकन आज पुनः बस्ने गरी बैठक स्थगित भएको थियो ।

हिजो मंगलबार बसेको सिफारिस समिति बैठकले जबरालाई यसैसाता सफाइ पेश गर्न मौका दिने गरी कार्यतालिका तयार पारेअनुसार राणाले समिति समक्ष यसैसाता जवाफ पेश गर्नुपर्ने छ ।

उक्त समितिमा रामबहादुर विष्ट, मीनबहादुर विश्वकर्मा, एकवालमिया, कल्याणी कुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, यशोदा गुरुङ सुवेदी, रेखाशर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा. शिवमाया तुम्बाहाम्फे सदस्य छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !