१६ आश्विन २०८१, बुधबार

प्रचण्ड-नेपाल भेटवार्ता : चुनावअघि नै पार्टी एकता संयोजन समिति बनाउने सहमति


प्रचण्ड-नेपाल भेटवार्ता फाइल फोटो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । ललितपुरको हात्तीवनस्थित प्रचण्डको एक नातेदारको घरमा भएको भेटमा पार्टी एकताका लागि संयोजन समिति बनाउने सहमति भएको स्रोतले जनाएको छ ।

भेटवार्तामा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सहभागी भएका थिए । सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्नुअघि प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो ।

यसअघि एकीकृत समाजवादीले पार्टीको सचिवालय बैठकमा माओवादी केन्द्रसँगको एकताका लागि गृहकार्य गर्ने र एकता समायोजन समिति बनाउने गरी अघि बढ्ने निर्णय गरेको थियो । सो निर्णय गरेपछि माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पहिलोपटक वार्ता भएको हो ।

सत्ता गठबन्धनमा सिट बाँडफाँटका विषयमा कसरी अघि बढ्ने भन्नेबारेमा उनीहरुबीच छलफल भएको थियो । भेटवार्तामा आगामी मंसिर ४ गते हुने निर्वाचनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा समेत छलफल भएको जनाइएको छ।

आज गठबन्धनको बैठक हुनुअघि भएको उनीहरूको भेटमा आफ्नो पार्टीले दाबी गर्ने सिट र चुनाव लड्ने नेताहरुबारे पनि छलफल भएको प्रचण्डनिकट एक नेताले बताए । गठबन्धनमा सिट बाँडफाँटको विषय पेचिलो बनिरहेका बेला प्रचण्ड नेपालबीच भेटवार्ता भएको हो ।

बैठकमा आगामी प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि हुने निर्वाचनमा एउटै चुनावी घोषणापत्र लिएर जानसमेत दुवै दल सहमत भएको र त्यसका लागि आवश्यक छलफल गर्दै जाने निष्कर्ष निकालिएको बताइएको छ ।

यसैगरी आजको भेटवार्तामा डा. बाबुराम भट्टराई र वामदेव गौतमलाई पनि गठबन्धनबाटै उम्मेदवार बनाउने विषयमा पनि छलफल भएको छ । गौतम र डा. बाबुराम भट्टराई पनि माओवादीको चुनाव चिन्हमा उम्मेदवार हुने भएपछि उनीहरूलाई पनि समेटेर चुनाव अगाडी पार्टी एकता संयोजन समिति बनाउने विषयमा छलफल भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु