१२ श्रावण २०८१, शनिबार

नागरिकता विधेयक प्रतिनिधिसभाबाट पुन: बहुमतले पारित


नागरिकता विधेयक पारित फाइल फोटो

काठमाडौं । नागरिकता विधेयक प्रतिनिधिसभाबाट पुन: बहुमतले पारित भएको छ । प्रतिनिधि सभाको आजको बैठकले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पुनः बहुमतले पारित गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसद्मा नै फिर्ता गरेको नागरिकता विधेयक आज प्रतिनिधिसभाबाट बहुमतले पारित भएको हो । नागरिकता विधेयक पारित गर्दा मत विभाजन अनुसार सांसदहरुले उक्त विधेयकको पक्ष वा विपक्षमा मत दिएका हुन् ।

प्रमुख प्रतिपक्षी दलको माग पश्चात् मत विभाजन मार्फत विधेयकलाई पारित गरिएको हो । विधेयकलाई पुनः पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १३५ मत, यसको विपक्षमा ६० मत परेको आजको बैठकमा जम्मा १९५ जना सांसदहरुको उपस्थिति रहेको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले विधेकयलाई पुनः पारित गरियोस् भन्ने पक्षमा १३५ मत परेको र यो आज उपस्थित सांसदहरुको बहुमत संख्या भएकाले विधेयक बहुमतले पारित भएको घोषणा गरेका थिए ।

राष्ट्रपति भण्डारीबाट पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाइएको विधेयक फास्ट ट्र्याकमा आज दोस्रो पटक पुन: बहुमतले पारित भएको हो । यसअघि सत्ता गठबन्धनले समेत फिर्ता पठाइएको विधेयकको प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरेको थियो ।

सत्ता गठबन्धनले संसदबाट ध्वनी मतका आधारमा उक्त विधेयक पारित गर्न चाहेको थियो । तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले मत विभाजन मागेपछि सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रक्रियामा अघि बढाएका थिए ।

आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘सम्माननीय राष्ट्रपतिबाट सन्देश सहित प्राप्त फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई प्रस्तुतरुपमा पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

गृहमन्त्री खाणले विधेयकलाई प्रस्तुत रुपमा पारित गरियोस् भनी प्रस्ताव प्रस्ताव गरे पछि सभामुख सापकोटाले ध्वनी मतका आधारमा प्रस्तावलाई निणर्यार्थ प्रस्तुत गर्न लाग्दा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का प्रमुख सचेतक बिशाल भट्टराईले सभामुखसँग समय मागेर बोल्दै राष्ट्रपतिले पुनर्विचारको लागि ८ वटा बुँदासहित सदनमा पठाएकाले यसमा पुनर्विचार गरेर नै अगाडि बढ्नु पर्ने माग गरेका थिए ।

उक्त प्रस्तावमाथि सांसदहरुले आफ्नो धारणा राखेका थिए । गृहमन्त्रीले जवाफ दिएपछि विधेयक मतदानको लागि अघि बढेको थियो । संघीय संसद सचिवालयले अव नागरिकता विधेयक प्रतिनिधिसभाबाट पास भईसकेपछि राष्ट्रिय सभामा पठाउनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !