१२ बैशाख २०८१, बुधबार

सत्तारुढ दलकै नेताको अगुवाइमा फोहोर लैजादा सडक अवरुद्ध गरियो : मेयर बालेन


बालेनसँग अन्तर्वार्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले सत्तारुढ दलहरुकै स्थानीय नेताहरुको अगुवाइमा फोहोर लैजादा सडक अवरुद्ध गरिएको बताएका छन् ।

सामाजिक संजाल फेसबुकमा लेख्दै मेयर साहले सत्तारुढ दलहरुकै स्थानीय नेताहरुको अगुवाइमा सडक अवरुद्ध गरेकोले फोहोर लैजाने कुरा आज पनि सहज नभएको भनेर गुनासो गरेका छन् ।

सत्तारुढ दलहरुका साथै विपक्षी दलहरु एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि फोहोर लैजादा सडक अवरुद्ध गर्ने काममा साथ दिएको देखिएकोले फोहोर व्यवस्थापन गर्न समस्या भएको स्पष्ट पारेका छन् ।

यद्यपि २०० भन्दा बढि प्रहरीहरुको परिचालनबाट फोहोरका गाडीहरु बञ्चरे लगिएतापनि केहि समूहबाट लुक्दै गुलेली हानेर अवरोध सिर्जना गर्ने प्रयास गरिकोले आज २०३ वटा मात्र फोहोरका गाडीहरु बञ्चरे डाँडा लैजान सकिएको जानकारी दिए ।

केहिदिन र केहि समयबाट देखिरहेको समस्या सतही मात्रै भएकोले यसका गहिरा र अलग्गै कारणहरु भएको उनले उल्लेख गरेपनि ती कारणहरि के-के हुन् भन्ने कुरा खुलाएनन् । फोहोर व्यवस्थापनको नाममा बञ्चरेडाँडमा ५ अर्ब भन्दा बढी लगानी गरिसकेको र दुई दशकदेखि योजना बनाएको अवस्थामा पनि फोहोर लैजान माथापच्ची गर्नुपरेकोमा उनले आक्रोश समेत प्रकट गरेका छन् ।

उनले सिसडोलमा गरिएको लापरवाही र सो क्षेत्रको दुरवस्थाले गर्दा स्थानीयहरुले जोसुकैलाई विश्वास गर्न नसक्नु अस्वभाविक पनि नभएको उनले स्वीकार गरेका छन् । सिसडोलको वैज्ञानिक व्यवस्थापन र बञ्चरेको दिगो उपयोगीताका लागि महानगर संवेदनशील रहेको उनले बताएका छन् ।

उनले काठमाडौँ महानगरपालिकाले गरेका सहमतिहरुको अक्षरस: पालना गर्ने भन्दै सबै पक्षबाट हामी त्यहि किसिमको संवेनशीलता र इमान्दारिताको अपेक्षा राखेको बताएका छन् । उनले आफ्ना कुत्सित स्वार्थहरुको व्यवस्थापन महानगरले गरिदेला भन्ने सोच्नु भएको भए त्यो भ्रम मात्र भएको पनि उनले स्पष्ट पारेका छन् ।

यस्तो छ मेयर बालेनको फेसबुक स्टाट्स जस्ताको तस्तै

फोहोर लैजाने कुरा आज पनि सहज भएन । सत्तारुढ दलहरुकै स्थानीय नेताहरुको अगुवाइमा सडक अवरुद्ध गरियो, जसलाई विपक्षी दलहरु एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि साथ दिएको देखियो । यद्यपि २०० भन्दा बढि प्रहरीहरुको परिचालनबाट फोहोरका गाडीहरु बञ्चरे लगियो । तर केहि समूहबाट लुक्दै गुलेली हानेर अवरोध सिर्जना गर्ने प्रयास गरियो । यसैकारण आज २०३ वटा मात्र फोहोरका गाडीहरु बञ्चरे डाँडा लैजान सकियो ।

केहिदिन र केहि समयबाट देखिरहेको समस्या सतही मात्रै हो । यसका गहिरा र अलग्गै कारणहरु छन् । नत्र सोच्नुहोस् त, राज्यले ५ अर्बभन्दा बढि लगानी गरिसकेको, झन्डै २ दशकदेखि योजना बनाएको ठाउँमा फोहोर लैजान यतिका माथापच्ची किन गर्नु पर्छ ? २०० भन्दा बढि प्रहरी परिचालन गर्दा पनि स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ ? पुरै राज्य संरचना यस्तो निरिह किन बन्छ ?

यहाँ केहि कमजोरी, केहि गल्ति भएकै छ । सिसडोलमा गरिएको लापरवाही र त्यो क्षेत्रको दुरवस्थाले गर्दा स्थानीयहरुले जोसुकैलाई विश्वास गर्न नसक्नु अस्वभाविक पनि होइन । तर हामी विश्वस्त पार्न चाहन्छौँ कि विगत दोहोर्याएर अपराध गर्ने छैनौँ । यसका लागि केहि समय भने पक्कै लाग्छ । सिसडोलको वैज्ञानिक व्यवस्थापन र बञ्चरेको दिगो उपयोगीताका लागि महानगर संवेदनशील छ । हामी आफुले गरेका सहमतिहरुको पालना गर्नेछौँ । सबै पक्षबाट हामी त्यहि किसिमको संवेनशीलता र इमान्दारिताको अपेक्षा राख्दछौँ ।

पुन: भन्न चाहन्छौँ, व्यवस्थापन हाम्रो स्वार्थहरुको गर्नु पर्ने होइन, फोहोरको हो । आफ्ना कुत्सित स्वार्थहरुको व्यवस्थापन महानगरले गरिदेला भन्ने सोच्नु भएको छ भने त्यो भ्रम हो । त्यसो भन्दैमा कसैलाई हराउने खेलमा महानगर छैन । सबैले जित्ने कार्यक्रम लागू गर्ने योजनामा महानगर छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !