११ श्रावण २०८१, शुक्रबार

डिएनए टेस्ट गर्नको लागि एउटी आमाले जल्न तयार हुनु पर्ने ? यो अत्ति हो, यो अत्याचार हो : मेयर बालेन साह


बालेन साह र निहारिका राजपूत

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले डिएनए टेस्ट गर्नको लागि एउटी आमाले जल्न तयार हुनुपर्ने देशको वर्तमान अवस्था अत्ति र अत्याचारको पराकाष्ट भएको टिप्पणी गरेका छन् ।

मेयर साहले शीतल निवास अगाडि आत्मदाहको प्रयास गर्ने निहारिका राजपूतसँग भेटपछि सामाजिक संजाल फेसबुकमा लेख्दै आफ्नो बच्चाको डिएनए टेस्ट मात्रै गर्न सरकारसंग माग गर्दा एउटी आमाले जल्न तयार हुनुपर्ने अवस्था बिडम्वना भएको भन्दै आपत्ति प्रकट गरेका हुन् ।

मेयर साहले आज शनिबार काठमाडौंको त्रिवि शिक्षण अस्पालमा पुगेर निहारिकालाई भेटेका थिए । भेटपछि बालेनले निहारिकासँगको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन् । उनले कानुनीराज्यमा यस्तो हुनु नहुने भन्दै अभिभावक भनिने राज्य यस्तो हुनु दुर्भाग्य भएको बताएका छन् ।

हिजो शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासअगाडि आत्मदाह गर्न खोज्ने २० वर्षीया निहारिकालाई प्रहरीले पक्राउ गरेर उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । आफू बलात्कृत भएको र प्रशासनले सहयोग नगरेको गुनासोसहित आन्दोलनरत निहारिकाले शीतल निवासअघि पुगेर आत्मदाह गर्ने प्रयास गरेकी थिइन् ।

उनले आत्मदाह गर्ने भन्दै शरीरमा पेट्रोलियम पदार्थ खन्याएकी थिइन् । तर प्रहरीले उनलाई आत्मदाह गर्न नदिइ पक्रेको थियो । उनले आफ्नो बच्चाको डीएनए जाँच गर्नको लागि माग गर्दै अनसनसमेत बसेकी थिइन् ।

जनकपुरका शिवराज श्रेष्ठले आफूलाई बलात्कार गरेर ‘ब्ल्याकमेल’ गरेको निहारिकाको आरोप छ । शिवराजले आफूमाथि बलात्कार गरेर त्यसको तस्वीर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको उनको दावी रहेको छ ।

जिल्ला अदालत धनुषाले २०७८ साल माघ २४ गते श्रेष्ठलाई सफाइ दिएको थियो । उच्च अदालत जनकपुरमा भने उनको मुद्दा विचाराधीन रहेको छ । न्याय नपाएपछि उनी आत्मदाह गर्ने अवस्थामा उने पुगेको हुनसक्ने बताइएको छ ।

उनले लेखेका छन्, ‘आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने ? यो अत्ति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !