५ आश्विन २०८१, शनिबार

प्रहरी समायोजन गर्न मधेस सरकारको संघीय सरकारसँग आग्रह


प्रदेश २_मधेश प्रदेशसभा

जनकपुरधाम । मधेस प्रदेश सरकारले तत्काल प्रहरी समायोजन गर्न सङ्घीय सरकारसँग आग्रह गरेको छ । मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले आज बिहान मन्त्रालयमा पत्रकार सम्मेलन गरी एकसाताभित्र प्रहरी समायोजन गर्न सङ्घीय सरकारसँग आग्रह गरे ।

“हामीले पटक–पटक प्रहरी समायोजन गर्न केन्द्र सरकारसँग आग्रह गर्दै आएका छौँ”, उनले भने,“तर सङ्घीय सरकारले कुनै गम्भीरता देखाएको छैन्, एक सातासम्म पनि प्रहरी समायोजन नभए हामी बाध्य भएर सङ्घीयसरकार विरुद्ध सङ्घर्षमा उत्रिन्छौँ ।”

प्रहरी समायोजनका लागि सङ्घीय सरकारलाई दबाब दिन यही साउन २२ गते प्रदेश प्रमुखमार्फत सङ्घीय सरकारलाई ज्ञापनपत्र पठाउने मन्त्री साहको भनाइ थियो । प्रदेशका सबै राजनीतिक दल, प्रदेशसभाका सांसद, सरकारका प्रतिनिधि समेतले प्रदेश प्रमुखमार्फत् सरकारलाई ज्ञापनपत्र पठाउने जनाउँदै मन्त्री साहले ज्ञापनपत्र पश्चात पनि प्रहरी समायोजन नभए एक सातापछि चरणबद्ध आन्दोलनमा उत्रिने बताए ।

केही साताअघि जनकपुरधाममा भएको सातै प्रदेशका गृहमन्त्रीको सामूहिक बैठकले तत्काल प्रहरी समायोजन गर्न आग्रह गरेको र मधेस प्रदेशका मुख्यमन्त्रीको नेतृत्वमा छुट्टै आग्रह गरेपनि सङ्घीय सरकार त्यसतर्फ ध्यान नदिएको गुनासो गर्नुहुँदै मन्त्री साहले संविधानले प्रदेश सरकारलाई दिएको अधिकारसमेत सङ्घीय सरकारले खोस्ने, अपव्याख्या गर्ने र आश्वासन मात्रै दिने गरेकोले बाध्य भएर प्रदेश सरकार सङ्घर्षमा उत्रिन लागेको उल्लेख गरे ।

कुलोमा युवकको शव फेला

धनुषाको मिथिला नगरपालिका– ५ विश्रामपुरस्थित कुलोमा एक युवकको शव फेला परेको छ । सनाखत हुन नसकेको अन्दाजी करिब ४० वर्षीय युवकको शव कुलोमा फेला परेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

गहुँगोरो वर्णको खैरो गन्जी र सुन्तला रङको कट्टु लगाएको तथा तराई मुलका जस्तो देखिने ती युवकको शव परीक्षणका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पठाएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !