१२ श्रावण २०८१, शनिबार

प्रजातन्त्र सेनानी गोपालदास वादेको निधन


गोपालदास वादे

काभ्रेपलाञ्चोक । प्रजातन्त्र सेनानी गोपालदास वादेको आज बिहान निधन भएको छ । ९७ वर्षीय वादेको बिहान ३ बजे काभ्रेपलाञ्चोकको बनेपास्थित निवासमा निधन भएको नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री रहनुभएका उनका छोरा कञ्चनचन्द्र वादेले जानकारी दिनुभयो ।

पारिवारिक स्रोतका अनुसार गोपालदास महात्मा गान्धीको सानिध्यमा रही गान्धी आश्रममै राजनीतिक तालिमप्राप्त व्यक्तित्व थिए । तुलसीमेहर श्रेष्ठमार्फत गान्धीको सम्पर्कमा पुग्नुभएका वादे आफ्नै दाजु राजदासको प्रेरणाले राजनीतिमा लागेका थिए । वादेलाई ‘गान्धीवादी नेता’का रूपमा चिनिने गरिन्थ्यो ।

वादेको घर तत्कालीन अवस्थामा कांग्रेसका संस्थापक विपी कोइराला, कृष्णप्रसाद भट्टराईलगायतको समेत आश्रयस्थल रहेको बताइन्छ । सामाजिक काममा सक्रिय वादेले घर नजिकको पुराना विद्यालय आजाद माध्यमिक विद्यालय र शिक्षा सदन माविका स्थापनाका लागि जग्गासमेत दान गरेका थिए । उहाँकै परिवारको सहयोगमा बनेपामा अस्पतालसमेत स्थापना गरिएको थियो । स्व वादेका दुई छोरा र दुई छोरी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !