१८ बैशाख २०८१, मंगलबार

काठमाडौंको मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोल निर्वाचित


बालेन साह र सुनिता डंगोल

काठमाडौं । काठमाडौँ महानगरपालिकामा मेयर पदका लागि स्वतन्त्र उम्मेदवार बालेन साह र उपमेयर पदकी उम्मेदवार नेकपा एमालेकी सुनिता डंगोलको निर्वाचित भएका छन् । काठमाडौँ महानगरको मेयरका स्वतन्त्र उम्मेदवार साह र उपमेयरकी एमालेकी उम्मेदवार डंगोलले फराकिलो मतान्तरले निर्वाचित भएका हुन् ।

स्वतन्त्र उम्मेदवार साहले ६१ हजार ७६७ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वीका रुपमा रहेकी सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत प्राप्त गरेर दोस्रो स्थानमा रहिन् । बालेनले सिर्जना भन्दा २३ हजार ४२६ बढी मत ल्याएका छन् ।

त्यस्तै नेकपा (एमाले) का उम्मेदवार केशव स्थापित ३८ हजार ११७ मतका साथ तेस्रो स्थानमा सीमित रहे । बालेनले केशव भन्दा २३ हजार ६५० बढी मत ल्याएका हुन् । सिर्जना सिंहले केशव स्थापितभन्दा २२४ मत मात्र धेरै ल्याएकी छन् ।

आँखीझ्याल चुनाव चिह्नमा लिएर लडेका स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७७० मत प्राप्त गरेका छन् । राप्रपा उम्मेदवार मदनदास श्रेष्ठले ५ हजार ७७० मत ल्याएका छन् भने विवेकशील साझाकी समीक्षा बास्कोटाले ६४७ मत पाएकी छन् ।

काठमाडौं महानगरको उपमेयरकी एमालेकी उम्मेदवार डंगोलले ६८ हजार ६१२ मत प्राप्त गरेर विजयी भएकी छन् । उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजावदी) का रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत पाएका छन् । सुनिताले रामेश्वर भन्दा ४४ हजार ८०६ बढी मत ल्याएकी हुन् । उपमेयरमा डंगोलले श्रेष्ठभन्दा लगभग तेब्बर मत प्राप्त गरेकी छन् ।

उपमेयरमै आँखीझ्याल चुनाव चिह्न लिएर उठेकी स्वतन्त्र उम्मेदवार विद्या श्रेष्‍ठ (महर्जन) ले १३ हजार ६९५ मत प्राप्त गरेकी छन् भने राप्रपाकी बिनिता मगैयाले १२ हजार १४१ मत ल्याएकी छन् । त्यस्तै लौरो चिह्न लिएर उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका वेन्जी सिंह महर्जनले ६ हजार ५५५ प्राप्त गरेकी छन् ।

काठमाडौं महानगरपालिकामा कुल मतदाता ३ लाख २४२ रहेका थिए । निर्वाचनमा १ लाख ९० हजार ९६२ मत खसेकोमध्ये ७ हजार ६८२ मत बदर भएको काठमाडौंका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !