१६ आश्विन २०८१, बुधबार

उद्योगधन्दा बेचेर खाने काम भयो : मन्त्री यादव


Matrika-Yadav

१२ वैशाख, सुर्खेत । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले उदारीकरण, खुल्ला बजार नीति र निजीकरणको नाममा उद्योगधन्दा बेचेर खाने काम भएको बताउनु भएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतको नवनिर्मित भवन उद्घाटन गर्न सुर्खेत आउनु भएका मन्त्री यादवले बुधबार वीरेन्द्रनगरमा प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा निजीकरणको गलत प्रयोगले नेपालमा उद्योगधन्दा बेचेर खाने काम भएको बताउनु भएको हो ।

उहाँले नेपालमा बहुदल पछि आर्थिक क्षेत्रमा खुल्ला उदारीकरण, बजार नीति, निजिकरणको गलत स्कुलिङले देशका उद्योगहरु धारासायी भएको बताउनु भयो । ‘बहुदल आएपछि नेपालको आर्थिक क्षेत्रमा खुल्ला उदारीकरण, खुल्ला बजार नीति र निजिकरणको स्कुलिङले विश्वासमा केही भए पनि नेपालमा यसको गलत प्रयोग भएको छ ।

निजिकरणको नाममा उद्योगधन्दाहरु बेचेर खाने र नेपाल अरुको लागि बजार भएको छ । व्यवस्थित रुपमा संचालन गर्नुभन्दा पनि बेचेर खाने भएको छ ।

उहाँले भन्नुभयो, ‘यसले हामीलाई परनिर्भर गराउँदै गएको छ । केही सरकारलाई देखाउने र केही कमिसन पकेटमा हाल्ने व्याप्त छ, यसलाई हामीले अन्त्य गछौँ ।’

उहाले उद्योगहरुको लाइसेन्स लिने र बेच्ने काम भएकाले भन्दै उनीहरुसंग छलफल गर्ने तयारीमा रहेको बताउनु भयो । उहाँलले सरकार जनताको तागतमा बनेकोले अब कुनै पनि क्षेत्रमा सिण्डिकेट लागु नहुने पनि बताउनु भयोे ।

उहाँले अब साना र ठूला उद्योगहरु संचालन गर्न मन्त्रालयले गृहकार्य गरिरहेको जानकारी दिँदै आम जनाता, सरकार र निजी क्षेत्रको सहभागितामा गाउँगाउँमा उद्योगहरु स्थापना गरेर आयातमा रोक्ने र आन्तरिक उत्पादनलाई बढाउने बताउनु भयो । ‘आर्थिक क्षेत्र राख्ने र रोजगार सृजना गरी कसैलाई पनि त्यत्तिकै बसिरहन नपर्ने गराउँछौ’ उहाँले भन्नुभयो, गाउँघरमा साना र ठूला उद्योग स्थापना गर्न उद्योगी व्यापारीहरुसँग पनि छलफल गछौँ ।

साना उद्योग गाउँगाउँमा स्थपाना गरेर आयातमा रोक्ने केन्द्रित भएर उद्योगी र व्ययापारीहरुसँग छलफल गरिरहेका छौँ ।’ उहाँले खनिज, फलामलगायत सम्भावना भएकाले यसको अध्ययन गरेर उत्खनन्मा लाग्ने बताउनुभयो ।

फरक प्रसंगमा उहाँले एमाले र माओवादीको पार्टी एकता सम्मानजनक रुपमा हुने बताउनु भयो । ‘पार्टी एकता हुन्छ । दुवै पार्टीका अध्यक्षहरुले छलफल गरिरहनु भएको छ ।’ उहाँले भन्नुुभयो, ‘ढिलै भए पनि सम्मानजनक रुपमा पार्टी एकता हुन्छ ।

मन्त्री यादवले दास फ्रान्सको सहयोगमा बनेको भूकम्प मापन केन्द्र सुर्खेतको नवनिर्मित भवन बुधबार उद्घाटन गर्नुभएको छ ।-ujyaaloonline


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !