१५ असार २०८१, शनिबार

चिनियाँ विदेशमन्त्रीको भ्रमणले दुई देशको सम्बन्धलाई सुमधुर बनाउनेमा एमाले विश्वस्त छ : नेता रिजाल


काठमाडौं । नेकपा (एमाले) का विदेश विभाग उपप्रमुख विष्णु रिजालले छिट्टै हुने भनिएको चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई सुमधुर र हार्दिक बनाउँछ भन्ने कुरामा एमाले विश्वस्त रहेको बताएका छन् ।

उनले भने,‘एमाले चिनियाँ विदेशमन्त्रीलाई नेपाल भ्रमणमा स्वागत गर्न तयार छ । नेपालले सबै देशसँग आफ्नो मूल्यअनुसार सम्बन्ध राख्नुपर्छ, हामी सबैसँग सम्बन्ध राख्न स्वतन्त्र छौं । अब सम्झौता कार्यान्वयनको बारेमा हामीले बढि ध्यान दिनुपर्छ ।’

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले नेपाल र चीनबीच उच्चस्तरको भ्रमण हुनु सकारात्मक भएको उल्लेख गरे । उनले भने,‘चिनियाँ विदेशमन्त्रीको औपचारिक भ्रमणको घोषणा भएको छैन । नेपाल र चीनबीचको सम्बन्ध पुरानो छ । हामी सहकार्यको युगमा छौं । चीनसँग १९६२ मा सिमा सम्झौतामा हस्ताक्षर भएयता कुनैपनि समस्या छैन । समस्यारहित सम्बन्धको रुपमा हेर्न चाहन्छौं । चीनको विकासबाट नेपालले पनि लाभ पाउनुपर्छ । नेपाल र चीनबीच यो बीचमा उच्चस्तरको भ्रमण भएका छन् । राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीस्तरमा भ्रमण आदानप्रदान भएका छन् । पछिल्लो समय कोभिडको कारण उच्चस्तरको भ्रमण भएको थिएन ।’

एमाले नेता रिजालले वर्तमान सरकारले विदेश सम्बन्ध सञ्चालनमा असफलता प्रकट गरिरहेको आरोप लगाउँदै भने,‘यो सरकारले विदेश सम्बन्धलाई खेलाँचीको रुपमा लिएको छ । चीन अहिले राजदूतविहीन छ । वर्तमान सरकारले चीनसँगको सम्बन्धलाई कति महत्व दिएको छ ? भन्ने कुरा यहीँबाट थाहा हुन्छ । हामी त भारत र चीनबाट लाभ लिने कुरा गरिरहेका छौं । भारतमा हामीले राजदूत नियुक्त गर्यौं । तर चीनमा राजदूत अहिलेसम्म नियुक्त भएको छैन । के यही हो त समान व्यवहार ?’

उनले वर्तमान सरकारले भारतसँगको सिमा विवाद समाधानको लागि पहल नै नगरेको पनि आरोप लगाए । उनले भने,‘बरु यो सरकारले चीनसँगको हुँदै नभएको सिमा समस्या समाधानको लागि भन्दै अध्ययन कार्यदल बनायो । त्यसको प्रतिवेदन पनि सार्वजनिक भएको छैन । दुई देशका बीचमा कुराकानी भएको पनि देखिँदैन । समस्या भारतसँग छ, अनि अध्ययन कार्यदल चीनसँग बनाउँछ । सरकारले अब गल्ती सच्याउँदै, चीनसँगको सम्बन्धलाई हार्दिकताको रुपमा विकास गर्नेछ भन्ने विश्वास लिएका छौं । र, जतिपनि समस्याहरु छन्, त्यसलाई कुटनीतिक रुपमा समाधान गर्नेछ भन्ने विश्वास छ ।’

नेपाल र चीनबीच बीआरआईमा सन् २०१७ मा हस्ताक्षर भएपनि अहिलेसम्म यो सम्झौता कार्यान्वयन हुन नसकेको उनको भनाई थियो । उनले भने,‘अब सरकारले राजनीतिक पूर्वाग्रहबाट माथि उठेर आफ्नो भूमिका खेल्नेछ । नेपाल र चीनबीच इतिहासदेखि रहँदै आएको ऐतिहासिक सम्बन्धले उचाई लिन्छ । उत्तरसँग कुरा गर्दा दक्षिणसँग डराउने र दक्षिणसँग कुरा गर्दा उत्तरसँग डराउने मानसिकताबाट माथि उठ्नुपर्छ । नेपाल स्वतन्त्र मुलुक हो । हामीले आफ्नो हितअनुकूल सम्बन्ध राख्नुपर्छ । हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको सरकारको पालामा सबैसँग राम्रो सम्बन्ध थियो, र सरकारले समान व्यवहार गरेका थियो । हामी आफ्नो खुट्टामा उभिँदा सबैसँग राम्रो सम्बन्ध भयो । आफ्नो राष्ट्रिय हितलाई केन्द्रमा राखेर सम्बन्ध राख्दा नेपालको ईज्जत, मान र प्रतिष्ठा बढ्छ ।’

कार्यक्रममा जनता समाजवादी पार्टी, नेपालका नेता मनिष सुमनले पनि आफूहरु चिनियाँ विदेशमन्त्री वाङ यीलाई नेपालमा स्वागत गर्न तयार रहेको बताएका छन् । उनले भने,‘हामी पञ्चशीलको आधारमा सबै विदेशसँगको सम्बन्धलाई स्विकार गर्छौं । सबै देशसँग समान व्यवहार गर्छौं । भारत र चीनसँग विशेष सम्बन्ध रहनुपर्छ । भारत र चीन भनेको त हाम्रो नजिकका छिमेकी हुन्, हामीलाई कुनै आपत र विपद् पर्यो भने उहाँहरु नै नजिक हुनुहुन्छ, विश्वमै एउटा उदयीमान शक्ति चीनका विदेशमन्त्रीको नेपाल भ्रमण हुँदैछ, जसपाले उहाँको आगमनलाई विशेष रुपमा लिएको छ ।’

भारतजस्तै चीन पनि नेपालको लागि विशेष मुलुक भएको बताउँदै नेता सुमनले भने,‘तर, उहाँहरुको नेपालको राजनीतिमा आन्तरिक हस्तक्षेप नहोस् । चिनियाँ राजदूतले सक्रिय भूमिका खेलेको कुरा अहिले उठेको छ, उहाँले नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने कुरा बाहिर आएको थियो, अहिले प्रचण्डले पनि कहीँ कहीँ बोल्न थाल्नुभएको छ, चीनको विदेशमन्त्रीको भ्रमणलाई ईंगित गर्दै यस्तो कुरा बोलिएको छ । दलगत रुपमा चीनसँग विशेष सम्बन्ध हुन्छ । विशेष समबन्ध हुँदैमा कुनै पनि देशको आन्तरिक राजनीतिमा हस्तक्षेप हुनुहुँदैन । नेपालमा कम्युनिष्टहरुको एउटै पार्टी हुनुपर्छ भन्ने राजदूत यान्छीको भनाई आएको थियो । यो आपत्तिजनक कुरा हो । उनी त चीनको राजदूत हो नि ।’

नेपाल सरकारले परराष्ट्र नीति सही तवरले सञ्चालन गर्नुपर्ने र देशको समृद्धिको लागि सबैले काम गर्नुपर्ने उनको भनाई थियो ।

उनले नेपालको संसद्मा एमसीसी पारित हुँदै गर्दा चिनियाँ विदेश मन्त्रालयले निकालेका विज्ञप्ती र अभिव्यक्तिलाई आफूहरुले गम्भीर रुपमा लिएको पनि उल्लेख गरे । उनले भने,‘बीआरआईको ऋणबारे चर्चा छ कि ऋण तिर्न नसकेर कतिपय देश टाट पल्टेका छन् । हेर्नुहोस, नेपालले चीनको ऋण वा सहयोग लिँदा अमेरिकाले हस्तक्षेप गर्न मिल्दैन अनि नेपालले अमेरिकाको एमसीसीको अनुदान लिँदा चीनले पनि हस्तक्षेप गर्न मिल्दैन ।’

उनले आफूहरु चिनियाँ ऋण लिने पक्षमा भने नरहेको जिकिर गर्दै भने,‘हामी कुनैपनि ऋणको पक्षमा छैनौं । चीनले दिएको ऋण कम ब्याजदरमा छैन । जसपा त्यस्तो कुनै ऋणको पक्षमा छैन । बरु अनुदानको कुरा हामीले आफ्नो सार्वभौमसत्तालाई ख्याल गरेर लिनुपर्छ । ऋणको पक्षमा हामी छैनौं ।’

पूर्वराजदूत डा. सुरेश चालिसेले चिनियाँ विदेशमन्त्रीको अब हुने नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन मद्धत पुग्ने विश्वास दिलाए । उनले भने,‘सैद्धान्तिक रुपमा के हो भने कुनैपनि देशको उच्चस्तरको भ्रैमण भयो भने सम्बन्ध राम्रो हुन्छ । एमसीसी अस्ति पारित भयो, त्यसमा चीनले पनि आफ्नो टिकाटिप्पणी गरेको थियो । चीनको टिकाटिप्पणीको साथ–साथ अमेरिकाले पनि आफ्नो प्रतिक्रिया जनाएको थियो । अहिले चीनको विदेशमन्त्रीले नेपालमा चाँडै भ्रमण गर्न लाग्नुभएको छ । मलाई लाग्छ, उहाँको नेपाल भ्रमण यही मार्च २६, २७ तिर होला । उता, एप्रिलको पहिलो हप्तामा अमेरिकाका २५ जना कंग्रेसम्यानहरु नेपाल भ्रमणमा आउँदैछन् । ठूला–ठूला देशका उच्चस्तरीय भ्रमण हुनु राम्रो हो ।’

उनले चीनसँग नेपालको असाध्यै राम्रो सम्बन्ध रहेको सुनाउँदै भने,‘पछिल्ला वर्षमा चीनसँगको सम्बन्ध प्रगाढ भएको छ । भारत र चीन दुबै विश्व अर्थतन्त्रमा उदयमान शक्ति हुन् । चीन दोस्रो ठूलो र भारत छैठौं शक्ति हो । हामीले त नेपालको हित के मा हुन्छ ? त्यो कुरा हेर्नुपर्छ । हित र सम्बन्धको कुरा गर्दा भारत र चीन दुवैलाई चोट नपुगोस् । अमेरिका महाशक्ति राष्ट्र हो, त्यसको साथ सधैं चाहिन्छ ।’

उनले सन् २०१७ मा बीआरआईको सम्झौता भएको उल्लेख गर्दै अब त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताए । उनले भने,‘बीआरआईको कुरा गर्दा ९ वटा प्रोजेक्टमा चीन ईन्ट्रेष्टेड छ । सडक, हाईड्रोपावरको कुरा छ ।’

उनले अमेरिकी कंग्रेसले ‘टिबेट सर्पोट एक्ट’ पारित गरेको उल्लेख गर्दै तिब्बत चीनको लागि एकदम संवेदनशील ईस्यु भएको सुनाए । उनले भने,‘त्यसमा हामी सचेत हुनुपर्छ । हाम्रो कुनै पनि क्रियाकलाप चीनको अहितमा जानुहुँदैन । एक चीन नीतिमा हामी दृढ छौं । हामीले बीआरआईलाई पनि अगाडि लिएर हिँड्न सक्नुपर्छ । एमसीसीलाई पनि कार्यान्वयनमा लैजानुपर्छ । एमसीसीको सुरुवातबाट के हुन्छ भने यसमा त त्रिपक्षीय सहकार्य हुन्छ । भारत, नेपाल र अमेरिकाबीच त्रिदेशीय सहकार्य हुँदैछ । हामीले नेपालको हितलाई ध्यानमा राखेर अघि बढ्नुपर्छ । यसो गर्दा छिमेकीलाई असर नपरोस् । र, सुपरपावरलाई पनि असर नपरोस् ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !