१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रपतिद्वारा संसदका दुबै सदनकाे चालू अधिवेशन अन्त्य


राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी संसदको चालू हिउँदे अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेकी हुन् ।

यसअघि आजै सरकारले संसदकाे चालू हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गरेको थियो । आज बसेको मन्त्रिपरिषद्को बैठकले चालु हिउँदे अधिवेशन मंगलबार राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार नेपालको संविधान धारा ९३ को उपधारा २ अनुसार मंगलबार राति १२ बजेबाट अधिवेशन अन्त्य गरिएको हो । गत माघ १६ गते राष्ट्रियसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो ।

यसअघि फाल्गुन २९ गते आइतबार बसेको प्रतिनिधिसभाको बैठकपछि सभामुख अग्नि प्रसाद सापकोटाले अर्को बैठक भोलि चैत २ गते बुधबार दिउसो १ बजे बस्ने गरी स्थगित गरेका थिए । यसरी सरकारले एक्कासी संसद्को चालु हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।

आगामी वैशाखदेखि बजेट अधिवेशन शुरु हुने भएकाले सरकारले हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । चालु अधिवेशनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर रुपमा संसद अवरोध गरेपछि सरकारले सोचेअनुसार कुनै पनि विधेयक संसदवाट पारित गर्न सकेन ।

चालु हिउँदे अधिवेशन अवधिमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) भने संसद्बाट अनुमोदन गर्नु काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले ठुलो उपलव्धिको रुपमा लिएको छ ।

यस्तै गत फाल्गुन २९ गते आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि संसदमा पेश गरिएको महाभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने प्रस्ताव भने प्रस्तावक देव गुरुङले पेश गरेका छन् । तर संसदको बजेट बजेट अधिवेशन वैशाखदेखि मात्र शुरु हुने भएकाले प्रधानन्यायाधीश जबरामाथि संसदमा पेश गरिएको महाभियोग प्रस्तावमाथिको छलफल हुन अझै महिनौ कुर्नुपर्ने भएको छ ।

यस्तो छ हेर्नुहोस् संसद सचिवालयले निकालेको सूचना

संसद सचिवालयले निकालेको सूचना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !