११ श्रावण २०८१, शुक्रबार

गठबन्धनले आफ्नो स्वार्थका लागि राजनीति गरेको पोखरेलको आरोप

‘राजनीति जनताको हकहितका लागि हो’


ईश्वर पोखरेल फाइल फोटो

काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको राजनीति दुई ध्रुवमा विभाजन हुने मुलुककै लागि दुर्भाग्य भएको बताएका छन् । काठमाडौँको बाँसबारीस्थित विश्वशान्ति चिरन मिलन क्याम्पसको रजन जयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यसरी राजनीति विभाजन हुनु गलत भएको बताए ।

उनले विभाजित राजनीतिमध्ये एउटाको नेतृत्व नेकपा (एमाले)ले गरेको र अर्काेको नेतृत्व सत्ता गठबन्धन दलहरूले गरिरहेको उल्लेख गरे । नेता पोखरेलले एमालेले नेतृत्व गरेको राजनीति जनताको हक, हितका लागि भएको तर गठबन्धनले भने आफ्नो स्वार्थका लागि राजनीति गरेको आरोप लगाए ।

एमालेले नेतृत्व गरेको राजनीतिले निश्चित एजेण्डा बोकेको, राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि रहेको उनको भनाइ थियो । उनले एमालेले राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानका साथ मुलुक बनाउने सपना बोकेर अघि बढेको दाबी गरे ।

समारोहमा नेपाली कांग्रेसका नेता नरहरि आचार्य, अधिकारकर्मी दमननाथ ढुङ्गाना, प्रा डा मोहन लोहनीलगायतको सहभागिता थियो । समारोहमा स्कुलको नवनिर्मित भवनको उद्घाटन तथा रुस र युक्रेनबीचको युद्ध अन्त्य एवं विश्व शान्तिका लागि प्रार्थनासमेत गरिएको थियो ।

सो अवसरमा सर्वाेच्च शिखर सगरमाथा चढेका क्याम्पसका तीन विद्यार्थीलाई सम्मानसमेत गरिएको थियो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष डा. शम्भुराम सिंखडाका अनुसार उक्त क्याम्पसले निम्न आय भएका गरिब विद्यार्थीलाई पढाउँदै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !