२० बैशाख २०८१, बिहिबार

सभामुखविरुद्ध महाभियोग प्रस्ताव दर्ता हुनसक्छ : नेता बस्नेत


महेश बस्नेत फाइल फोटो

काठमाडौं । एमालेका नेता महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोगको प्रस्ताव पनि दर्ता हुनसक्ने टिप्पणी गरेका छन् । मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै नेता बस्नेतले यस्तो बताएका हुन् ।

“अब एमालेले सभामुखज्यूलाई महाभियोग दर्ता गरेर सेफ ल्याण्डिङ खोजोस भन्ने कतिपय बुद्धिजिवीहरुको सुझाव पनि छ, अस्ति एउटा कार्यक्रममा कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल र म सँगै थियौं, युवा संघको कार्यक्रममा उहाँले पनि त्यो भन्नुभयो– एमालेले महाभियोगको प्रस्ताव दर्ता गरोस, पास या फेल हुने कुरा एउटा कुरा भयो, त्यसपछाडि सदनलाई सुचारु गर्ने कुरामा एउटा सेफ ल्याण्डिङको विषय हुनसक्छ भन्नेपनि यो आएको छ।”, उनले भने।

नेता बस्नेतले भने, “त्योबारेमा चाहीँ नेकपा एमालेले अहिलेसम्म कुनै ठोस निर्णय नगरिसकेको कारणले त्यो विषयमा अहिले मैले यो नै हुन्छ भनेर भन्न सक्दिनँ । तर, एउटा विषय त्यो पनि हनचाहीँ सक्छ। सभामुखज्यूलाई महाभियोग ल्याउनसक्ने एउटा परिस्थिति सिर्जना पनि हुनसक्छ, उहाँको कारणले ।”

उनले सभामुखविरुद्ध महाभियोग प्रस्ताव अघि बढाउनको लागि आफूहरु सय जना सांसद जुनसुकै बेला हस्ताक्षर गर्न तयार रहेको पनि स्पष्ट पारे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !