७ बैशाख २०८१, शुक्रबार

प्रतिनिधिसभाको बैठक आजपनि प्रमुख प्रतिपक्ष एमालेद्वारा अवरुद्ध


एमालेद्वारा संसद अवरुद्ध फाइल फोटो

काठमाडौँ । संघीय संसद्को दशौँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको आजको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरुद्ध गरेको छ ।

बैठक सुरु भएलगत्तै एमालेका सांसदले वेल घेराउ र नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले जनताको आवाज मुखरित हुने संसद्मा जनताका प्रतिनिधिको आवाज थुन्ने अवस्था आएको भन्दै यसले जनतामा निराशा उत्पन्न हुने बताए । उनले आफ्ना कुरा सुन्ने र अरुका कुरा पनि सुन्ने प्रक्रियामा सहयोग गर्न एमालेका सांसदलाई पटकपटक आग्रह गरेका थिए ।

उनले संसदीय व्यवस्था सिद्धान्तमात्र नभएर समन्वयात्मक अभ्यास पनि भएकाले परिस्थिति र अवस्था सधैँ नहुने हुँदा सरकारलाई काम गर्न दिन र संसद् सञ्चालनमा सघाउन सांसदलाई पुनःध्यानाकर्षण गराए ।

जनप्रतिनिधिको सर्वाेच्च निकाय संसद् एवं सदस्यले स्वीकृत विधि र नियम पालनामा सांसद सचेत हुनुपर्ने भएकाले प्रक्रियाभित्र रहेर असहमति राख्न उनले आग्रह गरेका थिए । सभामुखले बैठक सञ्चालनका लागि प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम २ बमोजिम पटकपटक आग्रह गर्दै सर्वाेच्च अदालतमा विचाराधीन विषयमा संसद्मा छलफल गर्न नपाइएको संवैधानिक व्यवस्थाबारे पनि ध्यानाकर्षण गराए ।

गत साउन १ गते एमालेका तत्कालीन नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाहीका लागि सिफारिश गरिएकामा त्यसको सुनुवाइ नगरेर पार्टी विभाजन गराउने कार्यमा सभामुखबाट सहयोग गरिएको आरोप एमालेले लगाउँदै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !